मेरो आत्मा यात्राको भुँमरीमा बाँधिएको छ। एकै ठाउँमा बाँधिएर बस्नु मेरो नियति होइन। मेरो जीवनको अधिकांश समय आफ्नै जिल्लाको भीरपाखा, खोलानाला, वनजंगल, हिमाल पहाडतिरै बित्छ, तर कहिलेकाहीँ यो सीमालाई परसम्म लैजाँदै देश र विदेशको बीचमा पनि बिताउन मन लाग्छ। यसरी नै मेरा दिनहरू बितिरहेका छन्। मलाई देखेको र लेखेकोमा मात्र विश्वास छ। त्यसैले आफूले देखेको अनुभवलाई नै म बढी विश्वास गर्छु।
फागुन १ गते, विश्व रेडियो दिवसको उज्ज्वल अवसरमा, भारतको ओडिसा राज्यको भुवनेश्वरमा रेडियो प्रदर्शनी र विशेष कार्यक्रमहरूको आयोजना गरिएको थियो। रेडियो शब्द मेरो कानमा पर्ने बित्तिकै, मेरो मनले ‘जाऊ, जाऊ’ को आवाज सुन्यो। त्यसैले म यात्राको तयारीमा जुटेँ।
मेरो पहिलो यात्रा २०७१ सालमा भारतको सिक्किम र दार्जिलिङमा भएको थियो। त्यो छोटो बसाइले मलाई धेरै अनुभवहरू संकलन गर्ने अवसर मिलेको थियो। यसपटक पनि मेरो मनमा एउटा आशा थियो कि केही न केही नयाँ कुरा सिकिनेछ, हेरिनेछ र अनुभवहरूले मेरो जीवनलाई अझ समृद्ध बनाउनेछ।
यिनै आशाहरू बोकेर माघ २९ गते वीरगञ्ज भन्सार नाकाबाट रक्सौल हुँदै रेलमा अघि बढेको थिएँ। यात्रामा कालिञ्चोक एफएमबाट म, हजुरको रेडियोका दिपक कुमार घिमिरे र रेडियो तामाकोशीका सरोज सुवेदी सहभागी थियौं। भारतमा रेल चढ्ने यो मेरो पहिलो पटक थियो। यसअघि २०८० सालमा चीनमा बुलेट रेल चढेको थिएँ। रेल भनेपछि सबै एकै खालको हुन्छ होला जस्तो लाग्थ्यो मलाई, तर ठाउँ र भूगोल अनुसार फरक फरक खालका पनि हुँदोरहेछ। ओडिसामा विशेष गरी भुूगोल, पर्यटन, मिडिया र संस्कृतिको बारेमा केही अनुभव लिने सोचमा थिएँ। हप्तौं दिनसम्म समय र पैसा पनि त्यसैको लागि खर्चिने सोचमा थिएँ। तर यात्राको क्रममा फरक फरक अनुभवले मेरो मनको पानाहरू भरिन थाले।
-1740813575.jpg)
जब रेलको यात्रा सुरू भयो, स्टेसन स्टेसनमा नयाँ नयाँ खानाको स्वादले मन अन्यत्रै मोडिन थाले। रक्सौलबाट हाउडा कलकत्तासम्म पुग्नलाई १७ घण्टा रेलको कठिनपूर्ण यात्रा थियो। महाकुम्भ मेलाको कारण यात्रुको चाप थियो। त्यसैले टिकट नपाएर जेनेरल सिटमा बसेर गएको थिएँ। थामिनसक्नको गर्मी, दुर्गन्धित स्थान, ३ जनाको सिटमा ६ जनाको बसाइ, भोक, प्यास, यात्रुको ठेलमठेल, स्टेशनैपिछे घ्याच्च घ्याच्च रोकिने, कहिले जोगी, कहिले रोगीले हात थाप्ने जस्ता अनुभवहरूले यो यात्रा अझै पनि यादगार बनाएको छ। कठिनपूर्ण यात्राहरूमध्ये सायद यो पनि एउटा हो। समय र परिवेश अनुसार धेरै यात्रामा धेरै कठिनाइहरू भोग्दै आएको छु।
यो यात्राले मलाई नयाँ अनुभव र ज्ञान दियो। यात्राका क्रममा भेटिएका मानिसहरू, तिनको जीवनशैली, संस्कृति र परिवेशले मेरो दृष्टिकोणलाई अझै विस्तार बनाइदियो। यो यात्रा केवल एउटा शारीरिक यात्रा मात्र नभई, एउटा आत्मिक र धार्मिक यात्रा पनि थियो। यसले मलाई जीवनका विभिन्न पक्षहरू बुझ्ने र अनुभव गर्ने अवसर प्रदान गर्यो।
-1740813575.jpg)
यत्ति धेरै कठिनहरूलाई अलि सान्त्वना दिने काम पनि हुन्थ्यो। स्टेशनमा रेल रोकिने बित्तिकै नयाँ नयाँ अनुहार, नयाँ नयाँ भाकामा लय हाल्दै खानेकुराहरू ल्याउनेहरू प्रशस्तै थिए। तिनीहरूको बोलाइ र यात्रुप्रति गर्ने व्यवहारले सबै खुम्चेर बसेको मन पनि अलि फराकिलो हुन्थ्यो। यात्रामा मलाई खासै खान मन लाग्दैन। तर सरोज सुवेदीलाई खानामा केही बन्देज थिएन। जे ल्याउँछ, मज्जाले मगाउनुहुन्थ्यो। स्थानीय उत्पादन तातातो चिया, समोसा, हरियो केराउ, चना, केरा, अण्डा, काँक्रो, स्ट्रबेरी लगायतका खानेकुरा ल्याउँथे। हामीले दालभातको सट्टामा यिनै खानेकुराले पेट भर्यौं। नखाएमा पेट रित्तै हुने डर। प्लाष्टिकको झोला, बाकस, टोकरीमा ल्याएका अनि मीठो भाकामा खानेकुराहरूको उच्चारण हुन्थ्यो। यो चाहिँ अलि मीठो होला भन्दै थप्दै थप्दै खायौं। यी व्यापारीहरूलाई निद्राको मतलब देखिनँ। रात्रिकालीन समयमा पनि चिच्याउँदै, चिच्याउँदै खानेकुरा ल्याउँथे। कत्ति बिक्री हुन्छ या हुँदैन। बेचेको पैसाले जीविकोपार्जन मात्र हुन्छ कि सन्तानको शिक्षा, स्वास्थ्य लगायत केही शीर्षकमा खर्च गरिन्छ कि नाइँ। मेरो मनमा यस्तै सोचहरू पनि आउन थाल्यो। रेलवे स्टेशनको ठाउँ ठाउँमा प्रधानमन्त्री मोदीको ठूलो तस्बिरसहित होर्डिङ बोर्ड अनि स्थानीय उत्पादनको विज्ञापन। घरेलु उत्पादनलाई उच्च प्राथमिकता दिएको मैले बुझेँ।
हामी तिनै जनाको लागि नयाँ ठाउँको यात्रा थियो ओडिसा। देश पनि हेरिन्छ, मुख पनि फेरिन्छ जस्तो लाग्थ्यो। तर, कतै रमाइलो, कतै दु:ख पनि भोग्नुपर्यो। रेलको टिकटदेखि बाससम्म ठगिनु पर्यो। अझ हाम्रो अनुहार देख्ने बित्तिकै यिनीहरूलाई ठग्नुपर्छ भन्ने भावना भएकाहरू पनि भेटेँ। यी हाम्रा पाहुना हुन्, यिनको सम्मान गर्नुपर्छ भन्ने भावना भएका सायद कमै भेटिए होलान्। त्यसैले गर्दा खानेकुरा किन्दा, पानी किन्दा, लजमा बस्दा, गाडी चढ्दा पनि शंका लाग्न थाल्यो। पाइला पाइलामा ठगिनु पर्दा कसको मन खुसी हुन्छ होला। तर पनि यसलाई हामीले सकारात्मक ढंगले लियौं। बुझ्यौं र मनन गर्यौं।
-1740813573.jpg)
मैले यहाँ भारत सरकारले स्थानीय उत्पादनलाई दिएको प्राथमिकता र प्रभावको बारेमा बुझ्ने अवसर पाएँ। भारत सरकारको ‘एक स्टेशन, एक उत्पादन’ योजना स्थानीय तथा स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न र समाजका सीमान्तकृत वर्गहरूलाई अतिरिक्त आयका अवसरहरू प्रदान गर्न सुरू गरिएको बृहत् योजना रहेछ। यस योजनामा, प्रत्येक रेलवे स्टेशनमा त्यहाँको विशेष स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न स्टलहरू स्थापना गरिने। रेलमै बेच्ने योजना रहेछ। जसबाट स्थानीय कालिगढ, बुनकर, शिल्पकार आदिलाई आफ्नो उत्पादनहरू प्रदर्शन र बिक्री गर्ने अवसर मिलेको ठानेँ।
पश्चिम बंगाल राज्यमा, जसको राजधानी कोलकाता (पहिलेको कलकत्ता) हो, यो योजना सफलतापूर्वक कार्यान्वयन भइरहेको देखेँ। ९ नोभेम्बर २०२३ सम्म, पश्चिम बंगालमा १४६ ओएसओपी आउटलेटहरू सञ्चालनमा छन्, जुन देशभरिमा सबभन्दा उच्च संख्यामा रहेको छ। एक स्टेशन, एक उत्पादन योजना ओडिसा राज्यमा पनि लागू गरिएको छ। जहाँ स्थानीय हस्तकला, कपडा, कृषि उत्पादनहरू जस्ता वस्तुहरूलाई प्रवर्द्धन रेल, बसमा बिक्री गर्ने र रेलवे स्टेशनमा स्टलहरू स्थापना गरिएका छन्। यसबाट स्थानीय कृषक, उद्यमीहरूलाई आफ्नो उत्पादनहरू व्यापक बजारमा पुर्याउन मद्दत मिलेको छ। त्यसैले प्रत्येक रेलवे स्टेशनमा अनिवार्य रूपमा केही मिनेट रोकिँदा रहेछन्। यो योजना २५ मार्च २०२२ मा पाइलट परियोजनाको रूपमा सुरू गरिएको र १ मे २०२३ सम्ममा २१ राज्य र ३ केन्द्रशासित प्रदेशका ७२८ रेलवे स्टेशनमा ७८५ एक स्टेशन, एक उत्पादन केन्द्रहरू स्थापना भइसकेका छन्।
-1740813574.jpg)
नेपालमा पनि कृषिजन्य र घरेलु उत्पादनलाई प्रवर्द्धन गर्नको लागि बेला बेलामा योजना बन्ने गरेको छ। दोलखामा पनि एक गाउँ एक उत्पादन भनेर परियोजना लागू भएको थियो। तर, यसले दिगोपन लिन सकेन। आलु, अलैंची, किवी, सुन्तला जस्ता वस्तुलाई व्यापकता ल्याउनको लागि केही वर्ष परियोजना चल्यो। तर सरकारले ल्याएका परियोजना सफल बनाउनको लागि यहाँ उद्यमी, कृषक, खुद्रा व्यापारी र सरकार स्वयम लागेका हुँदो रहेछ। यस कार्यक्रमले गर्दा सामान्य नागरिकले पनि जीविकोपार्जनको लागि त्यत्ति धेरै संघर्ष गर्नुपर्छ जस्तो लागेन। दिनभरि खेतीपाती भ्याएर पनि रात्रिकालीन समय २/३ घण्टा खट्ने हो भने नुनतेल किन्नलाई पैसा संकलन गर्न सकिन्छ यस अभियानलाई। उद्यमीहरूलाई रेलवे स्टेशनको स्टलमा सामान बेच्न व्यवस्था पनि गरेका रहेछन्। उनीहरूले घरेलु उत्पादनका खानेकुरादेखि लाउने र कोशेली बोक्न मिल्ने सामानहरूको पनि व्यवस्था त्यहाँ देखेँ।
-1740813574.jpg)
फागुन २ गते आउटरिच संस्था रेडियोले आयोजना गरिएको इन्टरनेशनल रेडियो फेयरमा सहभागी भयौं। भुवनेश्वरको भंजकला मण्डपमा प्रदर्शनी तथा समारोहमा कालिञ्चोक एफएम, हजुरको रेडियो र रेडियो तामाकोशीको पनि स्टलको व्यवस्था गरेको रहेछन्। हामी केही समय स्टलमा रह्यौं। स्टलमा रहँदा हाम्रो बारेमा निकै चासो, आकर्षण बढेको देख्यौं। छिमेकी देशको नागरिक र नेपाली मिडियाप्रतिको माया, सद्भाव उहाँहरूमा थियो। आउटरिचका म्यानेजिङ ट्रष्टी सुब्रत कुमार पाती हाम्रो स्वागतको पर्खाइमा हुनुहुँदो रहेछ। ७/८ वटा स्टल राखिएका थिए। ती स्टलहरूमा पुरानादेखि नयाँ नयाँ प्रविधियुक्त रेडियोहरू राखेका थिए। यहाँको कार्यक्रम स्थलमा पुगेपछि मनमनै सोचेँ विकसित देशमा पनि रेडियो सुन्छन् होला त। हाम्रो जस्तो देशमा चाहिँ प्रविधिले छलाङ मारिसक्यो, कसले सुन्छन् रेडियो भनेर खोक्छन्। तर यहाँ सयौं रेडियोहरू वर्षौंदेखि बजिरहेको बुझियो। सामुदायिक रेडियोप्रति नागरिकको चासो, माया र सरकारको सहयोगले नै अहिलेसम्म पनि रेडियो प्रसारणमा कुनै समस्या आएको कार्यक्रममा व्यक्त भनाइहरूले प्रष्टाउथ्यो। त्यहाँ सञ्चालित सामुदायिक रेडियोहरूको अवस्था र सरकारले रेडियोप्रति गरेको लगानीले नै सयौं रेडियोहरू नियमित प्रसारण छन्। यस खालका रचनात्मक र सिर्जनात्मक कार्यहरू नियमित भइरहेको देखेँ। यहाँ पुगेपछि जगनाथधाम पुरीमा पुगेर नेपाल फर्किने योजना बुन्यो। साथै ओडिसाको भुवनेश्वर मन्दिरको पनि दर्शन गर्ने अवसर मिल्यो। छोटो समयमा धार्मिक, सांस्कृतिक, प्राकृतिक र भौगोलिक अवलोकनले मनमा धेरै उत्साह, उमंग छायो।
-1740813576.jpg)
-1740813575.jpg)
-1740813574.jpg)