(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ— सम्पादकीय नोट)
हामी आममान्छे
दाङको हापुरे बजारबाट पश्चिमतर्फ पर्ने शान्तिनगर गाउँपालिका–५, रगैंचा बिस्तारै बजारका रूपमा विकसित हुँदैछ। त्यही रगैंचामा छ ३३ वर्षीया दीक्षा कार्कीको कस्मेटिक पसल। म पुग्दा उनी ग्राहकको प्रतीक्षामा थिइन्। खासमा उनी ब्युटिसियन हुन्। आफूलाई ‘मेकअप आर्टिस्ट’ भन्छिन्। मेकअपका सामान पनि बेच्छिन्।
उनले काठमाडौंबाट मेकअपको प्रशिक्षण लिएकी छन्। पहिले कैलालीको जोशीपुरमा पसल थियो। अहिले दाङको रगैंचामा छ।
मैले सेतोपाटीका लागि यिनै मेकअप आर्टिस्टसँग कुरा गरेको छु।
तपाईंले यहाँ मेकअपसम्बन्धी पसल गरेको कति समय भयो?
पाँच वर्ष हुन लाग्यो। त्यसअघि कैलालीमा ६ वर्षजति यस्तै पसल गरेकी थिएँ।
कैलालीबाट दाङ कसरी आइपुग्नुभयो?
मेरो माइतीघर यतै (दाङ) हो। बिहे भएर कैलाली पुगेकी थिएँ। उता (कैलाली) केही वर्ष बसेपछि माइती घरतिरै जग्गा किनेर यतै बसेका हौं।
तपाईंको बिहे कसरी भएको हो?
पहिला प्रेम र त्यसपछि मागी बिहे भएको हो २०६८ सालमा, कैलालीका सुरेश कार्कीसँग। म एलएसली (कक्षा १० को अन्तिम परीक्षा) दिएपछि ठूलो मामाको घर गएकी थिएँ, कैलालीको जोशीपुर हो मामाको घर।
त्यति बेला उहाँ (सुरेश) १२ कक्षामा पढ्दै हुनुहुन्थ्यो। त्यति बेलै हाम्रो देखादेख भाएको थियो।
अनि प्रेम कसरी भयो त?
मेरा ठूलाबाआमा पनि कैलालीमै बस्नु हुन्छ। ठूलो ममी (ठूलीआमा) ले उहाँ (सुरेश) को आनीबानी विचार गर्नुभएको रहेछ, राम्रो लागेको रहेछ। ठूलोममीले एकपटक मसँग कुरा गर्नुभएको थियो तर मैले अहिले बिहे नगर्ने भनें।
उहाँ (सुरेश) ले मेरो मोबाइल नम्बर पाउनुभएछ। फोन गर्न थाल्नुभयो। फोनमा कुरा हुँदाहुँदै माया बस्यो। फोनमा ६ महिना जति कुरा भएपछि म बिहेका लागि राजी भएँ।
अनि उहाँ माग्न आउनुभयो?
होइन, घरमा बुबाले मेरो बिहे गर्ने कुरा गर्न थाल्नुभयो। बिहेको कुरा चल्न थालेपछि मैले ममी (आमा) लाई मनको कुरा भनें, सुरेशसँग माया बसेको कुरा गरें। सल्लाहले उसैलाई दिने भए बिहे गर्छु भनें।
त्यसपछि मैले नै उहाँलाई बोलाएँ। उहाँ आएपछि गोडा धोएर पठाइदिनुभयो। उता (सुरेशको घरमा) धुमधामले बिहे भयो।
तपाईंले बिहेअघि ब्युटिसियन सिक्नुभएको थियो?
बिहेपछि सिकेको हो। पहिला त मैले सिलाइकटाइ सिकेकी थिएँ तर त्यो काम गर्न मन लागेन। पछि श्रीमानको सल्लाहले ब्युटिसियनमा ६ महिनाको तालिम लिएँ।
तालिमपछि झन्डै डेढ वर्ष अर्कैको पसलमा काम गरें। त्यसपछि श्रीमानकै सल्लाह र सहयोगमा कस्मेटिक पसल सुरू गरें।
बिहे भएपछि पढ्नुभएन?
घरपरिवारले त पढाउन चाहनुभएको थियो। कलेज भर्ना गराइदिनुभएको थियो। म केही दिन कलेज गएकी पनि हुँ तर चौधरी बस्तीमा हुर्केकी मान्छे मलाई साथीहरूसँग भाषाको समस्या भयो।
साथीहरूले बोलेको म राम्ररी नबुझ्ने, मलाई अप्ठ्यारो भयो अनि कलेज जान छाडेँ। पढाइ पनि त्यतिकै छाडियो।
कैलाली छाडेर दाङ किन आउनुभयो?
कैलालीमा मेरो कस्मेटिक पसल थियो। श्रीमान् त्यतिखेर कतारमा हुनुहुन्थ्यो। घरमा सासूआमा, म र छोरी हुन्थ्यौं। छोरीले मामाघर जाने भनेपछि उसलाई लिएर दाङ आएकी थिएँ। फर्किन नपाई कोरोना भाइरस फैलिएर लकडाउन भयो।
त्यो बेला म चैत ९ गते दाङ आएकी थिएँ, असारमा मात्रै घर जान पाएँ। घर पुग्दा सासूआमा आमाजू दिदीको घरमा जानुभएको थियो। एक्लै भएका बेला मन आत्तिने भयो। मन आत्तिएर डर लाग्ने हुन थाल्यो।
त्यसपछि फेरि दाङ आएँ अनि यतै बस्न थालेँ।
त्यसरी मन आत्तिनुपर्ने के घटना भएको थियो?
म सुतेकै ठाउँमै बेलुका ८ बजे डुमेनी सर्पले हातमा डस्यो। मलाई छिमेकीले झारफुकका लागि लगे। राति ९ नबज्दै म बेहोस भइछु, राति २ बजेतिर मात्र होस आएछ। घरमा आएपछि मैले पानी र आँप खाएँ। फेरि मलाई विषको असर देखिन थाल्यो। मैले माइतीघरमा दाइलाई फोन गरेँ, मेरी छोरीको राम्रो पालनपोषण गरिदिनू भनेँ।
बिहान ५ बज्दा म फेरि बेहोस भइछु। दाइ पनि पुग्नुभएछ। मलाई छिमेकीले बर्दियाको सैनावार सर्पदंश उपचार केन्द्रमा पुर्याएछन्। बेलुका ५ बजेमात्रै होस आएको थियो।
उपचारले म निको भएँ। त्यसपछि दाइले दाङतिर बस्ने व्यवस्था गर्न सल्लाह दिनुभयो। त्यसैअनुसार पसल बेचेर दाङ आएँ।
दाङमा जग्गा कहिले किन्नुभयो?
म कैलाली छाडेर आउनुभन्दा पहिले नै किनेका थियौं। श्रीमानले विदेशमा कमाएको र मसँग भएको जोडेर रगैंचामै ३ लाख २० हजार रुपैयाँमा एउटा घडेरी किनेका थियौं।
पछि त्यहीँ घर बनाएर हामी आमाछोरी बसेका छौं। म आफू जन्मेहुर्केको ठाउँ हो। यति भएपछि मलाई के चाहियो र!
श्रीमान अहिले पनि विदेशमै हुनुहुन्छ। मलेसियामा बसेको ८ वर्ष भयो। आउजाउ गरिरहनु हुन्छ। सासूआमा कैलालीमै दिदीसँग बस्नुहुन्छ।
रगैंचामा तपाईंको व्यवसाय कस्तो चलेको छ?
यो ठाउँ पनि बजार बन्दै छ। आजकाल गाउँघरमा पनि मेकअपको चलन छ। बिहे र पार्टीका लागि दिदीबहिनी मेकअप गर्न आउनुहन्छ। फोटो सुटका लागि मेकअप गर्न आउनेको संख्या पनि बढ्दै छ।
म ब्युटीसम्बन्धी काम गर्छु। म होम सर्भिसमा पनि जान्छु। होम सर्भिसमा जाँदा कमाइ राम्रो हुन्छ।
दिनमा तीनचार हजार (रुपैयाँ) को सामान बेच्छु। सामान बिक्री नहुँदा ब्युटिसियनको काम हुन्छ। मेरो कमाइले हामी आमाछोरीको गुजारा मजाले चलेको छ। श्रीमानको कमाइ बचत हुन्छ।
मेकअप गरेर सुन्दरता बढाउने त क्षणिक मात्रै हो, यसरी सुन्दरता बढाउनु कति ठिक हो?
हुन त जे पनि नेचुरल (प्राकृतिक) नै राम्रो हो मेकअपले नेचुरल ब्युटी (प्राकृतिक सुन्दरता) झन् चिटिक्क बनाइदिन्छ। यसो गर्नु एउटा कला हो। कला त जे पनि राम्रो हुन्छ।
यति बेला ठिक्क पैसा भए तपाईं के गर्नुहुन्थ्यो?
म यही पसल अलिक ठूलो बनाउने थिएँ। दिदीबहिनीलाई तालिम दिएर रोजगारी बढाउन मद्दत गर्ने थिएँ। म यही पेसामा रमाएकी छु, यसमै रमाउने चाहना छ।
ब्युटिसियन सम्बन्धी अरू कोर्स (तालिम) हरू गर्ने थिएँ। एकपकट तालिममा उत्कृष्ट भएर थाइल्यान्ड जाने अवसर आएको थियो तर गइनँ।
तपाईंलाई खानामा सबभन्दा बढी मन पर्ने परिकार के हो?
मलाई उसिनेको अण्डा खुब मन पर्छ। खसीको मासु र भात, रोटी पनि मन पर्छ।
रातमा तपाईंको निद्रा कस्तो छ?
निद्रा त मजाले लाग्छ। कहिलेकाहीँ घरव्यवहार सम्झँदा मन आत्तिएको जस्तो हुन्छ। श्रीमान–श्रीमती रमाएर ढुक्कले सँगै बस्ने दिन कहिले आउला जस्तो लाग्छ।
गएको चुनावमा कसलाई भोट दिनुभयो?
कैलालीबाट यता बसाइँसाइको कागज ल्याएको छैन। यहाँ नाम नभएकोले भोट दिन पाइनँ। त्यसअघिको चुनावमा दिएकी थिएँ।
तपाईंलाई हाम्रो देशमा सबभन्दा मनपर्ने नेता को हो?
सबै उस्तै हुन् जस्तो लाग्छ। यहाँ सोझासिधा मान्छे मात्रै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र भन्दै भिड्छन्। टाढाबाठा आफ्नो स्वार्थमा लाग्छन्, सत्तामा जानु पर्दा जो पनि मिल्छन्। इमान र निष्ठाको राजनीति भएन।
अब हुने चुनावमा कसलाई भोट दिनुहुन्छ?
म त व्यक्ति (उम्मेदवार) हेरेर दिन्छु।
जीवनमा आजसम्म आइपुग्दा के गल्ती गरें भन्ने लाग्छ?
पढाइ छोड्नु जीवनको ठूलो गल्ती हो भन्ने लाग्छ। आजकाल अंग्रेजी धेरै चल्छ, जे पनि अंग्रेजी लेखेको हुन्छ।
पढाइ नछाडेको भए अंग्रेजी पनि जान्ने थिएँ जस्तो लाग्छ। सोच पनि फरक हुन्थ्यो होला, चेतनास्तर बढ्थ्यो होला।
यति बेला राज्यले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
हामी पश्चिम दाङवासी उपचारका लागि तुलसीपुर नै पुग्नुपर्छ। पश्चिम दाङमा पनि एउटा गतिलो अस्पताल भइदिए हुन्थ्यो।
यहाँको बाटो पनि साँघुरो छ। बाटो फराकिलो बनाइदिए हुन्थ्यो। यहाँ किसानहरू धेरै छन् तर सिँचाइको उचित प्रबन्ध छैन। सिँचाइको प्रबन्ध गरिदिए हुन्थ्यो।
युवाका लागि रोजगारी सिर्जना गर्नुपर्छ। उद्योगहरू स्थापना गर्न जरूरी छ। युवालाई सीप सिकाउनुपर्छ।
'हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्