कुनै कुनै ट्रकिङमा जाँदा मलाई जर्मन नागरिक क्याट मोरगेनस्टर्नले गरेको गुनासो सम्झना आइरहन्छ।
ट्रेकिङ सम्बन्धी एकाध किताब लेखेकी क्याट ब्लगर समेत हुन्। उनी औषधि प्रयोजनका बिरूवामा पनि सोध गरिरहन्छिन्। २०७२ सालमा भूकम्प जानुअघि गोरखा जिल्लामा रहेको ग्रेट हिमालयन ट्रेलको तल्लो पदमार्गमा यात्रा गर्ने क्रममा क्याट केही दिनको सहयात्री बनेकी थिइन्।
उनले निकै गुनासो गर्दै भनेकी थिइन्, 'नेपालीहरू गाडी नै चलिसकेको ठाउँमा पनि किन पदमार्ग चलाइरहेका छन्? यो त पर्यटकलाई छलेजस्तै भएन।'
यात्राको क्रममा यस्तै केही विषयमा गुनासो गरेकी उनको गुनासो मनास्लु सर्किटको यात्रापछि भने निकै मत्थर भइसकेछ।
उनी फर्केपछि मैले उनलाई सोधेको थिएँ, 'कस्तो रह्यो त यात्रा?'
उनको जवाफ थियो, 'इट वाज हेभन्ली एक्सिपिरेन्स।'
विगतको यो प्रसंग त्यत्तिकै उप्केको होइन। असोज ८ गते जुरेको मनाङसम्मको यात्राले उब्जाएको हो।
मनाङसम्मको यात्रा हामीले चार दिनमै सकेका थियौं। गाडी पुग्न सकेकाले नै यो सम्भव भएको थियो। त्यसैले पनि ट्रेकिङ भनेर तोकिएका रूटमा बाटोघाटो पुग्नु सही हो वा होइन भन्न प्रश्नको जवाफ पनि मसँग छैन। तर यात्रा क्रममा देखिएका केही दृश्यले भने यो प्रश्न गर्न फेरि पनि बाध्य पारिरहन्थ्यो।
लमजुङ, बेँसीसहर कटेर मनाङतर्फ बाटो बढ्न थालेसँगै विदेशी पर्यटकहरू देखिन थाल्छन्। मनाङका लागि नियमित सार्वजनिक यातायात त छैन। तर पर्यटकीय सिजनमा नेपाली युवाहरू बाइक हाँकिरहेका भेटिन्छन्। भाडा र मालवाहकका रूपमा जिप पनि त्यो बाटो गुडिरहेका हुन्छन्।
ट्रेकिङ रूट भने बेला बेला गाडी गुड्ने बाटोमा मिसिन्थ्यो र फेरि हराउँथ्यो। भौगोलिक अवस्था जटिल भएकै कारण यसरी गाडी गुड्ने बाटोमा समेत ट्रेकिङ रूट मिसिएको लख काट्न सकिन्थ्यो।
यसरी विदेशीहरू सडकबाटोमा देखिँदा यात्रामा रहेको हाम्रो टोली उनीहरूलाई नमस्ते गरेर अभिवादन गर्न हतारिहाल्थ्यो। उनीहरू कोही अभिवादन फर्काउँथे, कोही वास्ता नगरी अगाडि बढ्थे। एकआपसकै गफमा मग्न हुन्थे।
-1696066491.jpg?timestamp=1696066491904)
-1696066491.jpg?timestamp=1696066491904)
यसरी गफिँदा एक्कासि पछाडिबाट आइरहेको गाडी देखेर अत्तालिन्थे।
यो देखेपछि लाग्थ्यो — हाम्रो अभिवादन पनि उनीहरूका लागि कतै खिस्सिट्युरी बनिरहेको त छैन?
अनि हामीले आफैंसँग भन्यौं — जतिखेर पनि अभिवादन गर्न नहत्तारिऔं!
दुर्गम जिल्लाहरू सडक सञ्जालमा जोडिन नसक्दा वा जोडिने चाहनाका लागि हुने संघर्ष सानो छैन। मनाङ जोड्ने बाटो निर्माणकै क्रममा मनाङ र लमजुङको सिमाना नजिक त्यहाँ केही सैनिकको बम बिस्फोटबाट भएको दुखद निधनले पनि यो संघर्षको कथा भन्छन्। लिपिबद्ध भएको यसबाहेकका अझै अनेकन कथा हुन सक्लान्।
त्यसैले नै अहिले पनि बाटोले नछोएको हुम्ला जस्तो जिल्लाको कथा रोदन शैलीका 'रेलको बाटो' जस्ता गीतका विषय बनिरहेकै छ।
मनाङमा त अहिले झन् सहज बाटो आवश्यक बन्दै गएको छ। ३५०० मिटर उचाइमा रहेका त्यहाँका बस्तीहरूमा पछिल्लो समय नयाँ व्यवसायको समेत सुरूआत भइरहेको छ।
हिमालपारिका मनाङ जस्ता जिल्लाका लागि स्याउ उत्पादन नयाँ होइन। यहाँका कतिपयको यो पुस्तैनी पेसा हो। पचास वर्षभन्दा धेरै समय अघिदेखि यहाँ स्याउ उत्पादन भइरहेको छ।
पछिल्लो समय मनाङमा पहिले पहिले देखिने आकारमा केही ठूला स्याउका रूखहरू भने देखिँदैनन्। यसलाई कम क्षेत्रफल भए पुग्ने र एउटा बोटबाट सरदर उति नै उत्पादन दिने इटालीबाट ल्याइएका फुजी, गोल्डेन, गाला र रेड डिलिसियस प्रजातिका स्याउका बिरूवा लगाउन थालिएको छ।
यसको सुरूआत एग्रो मनाङले गरिरहेको छ। यहाँ एग्रो मनाङले मात्रै सात सय ३५ रोपनी क्षेत्रफलमा स्याउ खेती गरिरहेको छ। यहाँका अन्य स्थानीयहरूले पनि यही स्याउ खेती गर्न थालेका छन् र पुराना बिरूवा मासिएका छन्।
एग्रो मनाङका प्रबन्ध निर्देशक युवराज गुरूङ स्याउमा नेपालको आफ्नै रैथाने जात नभएको मान्छन्। यहाँ कुनै समय अमेरिका लगायत मुलुकहरूबाटै आएका स्याउ रोपिएको उनको बुझाइ छ। युवराज स्याउ खेतीमा लागेको तेस्रो पुस्ताका किसान पनि हुन्।


नयाँ प्रजातिका स्याउ रोपिएसँगै यहाँ वार्षिक सरदर आठ हजार केजी स्याउ उत्पादन हुन थालेको छ। बढ्दो स्याउ खेतीको खपतका लागि यहाँ सहउत्पादनका रूपमा मदिरा उत्पादन समेत सुरू भएको छ।
भ्राताङमा सन् २०२० देखि मनाङ वेबरेज स्थापना भएर वाइन बनाउन सुरू गरिएको छ। यसलाई पछिल्ला पुस्ताले अगाडि बढाइरहेको छ। युवा उद्यमी आश्रय रञ्जितकारले दस करोड रूपैयाँ लगानीमा उद्योग खोलेका छन्। यहाँ उत्पादन हुने सबै स्याउको खपत सुनिश्चितताका लागि पनि सहायक उत्पादन गर्ने यस्ता उद्योग आवश्यक हुन्छन्। कम्पनीले अहिले 'मनाङ भ्याली प्रिमियम स्विट' र 'मनाङ भ्याली सेमी स्विट' नामका वाइन सार्वजनिक गरेको छ।
विस्तारित नयाँ प्रजातिको स्याउ खेतीले त्यहाँ आन्तरिक कृषि पर्यटनलाई पनि सहयोग पुग्ने देखिन्छ। किनभने त्यहाँबाट बिक्री हुने स्याउका ग्राहक भनेका नेपाली नै हुन्।
मनाङ अहिले स्याउ खेती र वाइनरीमा आफूलाई चिनाउन लागि परेको छ। उसलाई लाग्छ, स्याउका लागि मात्रै नभएर पर्यटकीय हिसाबमा पनि मुस्ताङको छाया बनिरहेको छ। त्यसैले मनाङेहरूलाई कसैले 'मनाङ र मुस्ताङ दाजुभाइ' भनेर गरेको सम्बोधन पनि त्यति रूचिकर लाग्दैन।
पाँच हजार हाराहारी जनसंख्या भएको यो जिल्लाका बासिन्दा आफूलाई स्याउ खेतीमै भए पनि अब्बल भएको हेर्न चाहन्छन्।
मनाङको भ्राताङ कटेपछि भने भौगोलिक सुगमता देखिन थाल्छ। उपत्यका जस्तै देखिने गरी वरिपरि थुम्काथुम्कीले घेरिएको र हिउँ पग्लेर बनेका ससाना ताल, सिमसार क्षेत्र निकै मनमोहक छन्। यहाँको दृश्यले तपाईंलाई भित्रैबाट शितलता प्रदान गर्छ। लाग्छ, यहाँ तपाईं आफैंलाई खोज्न आउनुभएको छ!
तपाईंको मनले हिमाल जस्तै बनेर आलिंगनमा लिँदै भन्छ — म तिमी नै हुँ। तिमीभित्र म जत्तिकै शान्ति छ, मलाई चिन त!
सायद आफैंलाई चिन्न, आफैंलाई अनुभव गर्न पनि धाएरै यो 'अनकन्टार' मा आउँछन् पर्यटक!
भ्राताङबाट अघि बढेपछि त्यहाँको पुरानो बस्ती मनाङ गाउँ नपुग्दासम्म ठाउँठाउँमा अहिले सडक बिस्तार गर्ने काम चलिरहेको छ। साब्जे ताल, पुरानो मनाङ बस्ती हेर्न मात्र नभएर, अन्नपूर्ण ताल हेर्न र थोराङ्ला पास हुँदै मुक्तिनाथसम्म पुग्नेहरू पनि यो बाटोको प्रयोग गर्छन्। पैदल यात्रामा आएका पर्यटकहरूलाई भने सडक बिस्तारको कामले सकस नै पारिरहेको छ।
त्यहाँका कतिपय स्थानमा निर्माण क्षेत्रभन्दा केही परबाट पनि पर्यटकहरूको सहजताका लागि ट्रेक रूट बिस्तार गर्न सकिने देखिन्छ। तर त्यसमा ध्यान गएको देखिँदैन। विदेशी मुद्रा आर्जनको सीमित स्रोत भएको हाम्रो जस्तो मुलुकले यो पाटोमा समेत ध्यान दिनै आवश्यक छ।
-1696066359.jpg?timestamp=1696066360549)