ग्लोबल नेपाली
नेपालीहरू कहिले जापान जान सुरू गरे होला? नेपालीहरू जापान जाने क्रम किन बढ्यो होला?
यस्तो जिज्ञासा हुनु स्वाभाविक हो।
यस सम्बन्धी अध्ययन गरेका छन् 'द युनिभर्सिटी अफ टोकियो' का उपप्राध्यापक दीपेश खरेलले। उनी सन् २००८ मा जापान पुग्दा बढीमा १० हजारभन्दा नेपाली थिए। अहिले कम्तीमा दुई लाख छन्।
उनले जापानमा रहेको नेपाली आप्रवासी सम्बन्धी विषयमा पिएचडी (विद्यावारिधि) गरेका छन्। दीपेशले नर्वेबाट 'भिजुअल एन्थ्रोपोलोजी' विषयमा एमफिल गरेका हुन्। सन् २००७ मा नेपाल फर्केर, सन् २००८ मा उनी जापान गएर विद्यावारिधि गरे। त्यसपछि विश्वविद्यालयमा पढाउने र नेपाली आप्रवासीकै विषयमा अध्ययन–अनुसन्धान गर्ने काममा छन्।
उनका अनुसार जापानमा यति धेरै नेपाली हुनुको मुख्य कारण 'कुक भिसा' हो।
'नेपालीहरूलाई कुक भिसामा जापान लैजान सुरू गरेका भारतीयहरूले हो। त्यसअघि नेपालीहरू पढाइका लागि जापान गएका थिए,' दीपेशले भने।
उनका अनुसार सन् १९५० मा नेपाल आएर पाँच वर्ष बसेका केही जापानी अनुसन्धानकर्ताले मुस्ताङको थाकखोलाबाट केही थकालीलाई जापान पुर्याएका थिए। ती थकालीहरूमार्फत बिस्तारै थप केही व्यक्ति पनि जापान पुगे। यसलाई दीपेशले 'थकाली कनेक्सन' भनेका छन्।
हङकङमा रहेका नेपालीहरू बिदा मनाउन जापान जाने क्रममा कोही उतै बसे। बिस्तारै आफ्ना मान्छे लगे। यसलाई उनले 'गोर्खाज कनेक्सन' भनेका छन्।
कुक भिसाबाट जापान जाने क्रमलाई 'कुक कनेक्सन' भनेका छन्।
उनको अनुसन्धानले 'कुक कनेक्सन' निरन्तर र सबैभन्दा बलियो रहेको देखाएको छ। जापानमा नेपाली समुदायको उपस्थिति बढाउने र रेस्टुरेन्ट क्षेत्रमा प्रभाव जमाउने माध्यम 'कुन कनेक्सन' नै हो।
जापानमा नेपाली लगानीकर्ता रहेका 'इन्डोकरी रेस्टुरेन्ट' ३२ सय हाराहारी छन्। नेपालीका रेस्टुरेन्ट पनि प्रशस्तै छन्। नेपाली कुकको संख्या कम्तीमा १३ हजार छ।
जापानमा नेपाली कुकको यो उपस्थितिको इतिहास भारतमा बेलायती शासन र नेपालीको सहभागितासँग जोडिन्छ।
'ब्रिटिस शासनकालमा भारतमा नेपाली युवा भर्ती हुन जान्थे। भर्ती हुन नसकेकाहरू होटलमा काम गर्थे। त्यसरी जानेमा बागलुङ र गुल्मीका युवा धेरै हुन्थे,' दीपेशले भने, 'सन् १९८० मा भारतीयहरूले जापानमा इण्डियन करी रेस्टुरेन्ट सुरू गरे। उनीहरूले नेपाली कुक जापान पुर्याए। यसकै विस्तारित रूप हो आज जापानमा नेपालीको बाक्लो उपस्थिति।'

त्यो बेला जापान गएर काम गर्नेहरूले मासिक १०–१५ हजार भारतीय रूपैयाँ तलब पाउँथे। त्यो पैसा भारतमै रहेका आफन्तले बुझ्थे। कहिलेकाहीँ चार–पाँच महिनासम्म तलब पाउँदैनथे। चार–पाँच जना एकै ठाउँमा राखिएका हुन्थे।
सन् १९९० दशकको अन्त्यतिर दुई–चार जना नेपालीले रेस्टुरेन्ट सुरू गरे। सन् २००६ पछि नेपालीका रेस्टुरेन्ट गणनामा आउने गरी विस्तार भए।
त्यसअघि धेरै नेपालीलाई जापान जान भारतीय नै हुनपर्छ भन्ने लाग्थ्यो। धेरै नेपालीसँग भारतीय पासपोर्ट थियो।
'जब जापानले नेपालीलाई पनि भिसा दिने रहेछ भन्ने ज्ञान भयो, तब नेपाली लगानीकर्ताले जापानमा इण्डियन करी रेस्टुरेन्ट खोल्न थाले,' उनले भने, 'त्यसपछि कुकहरूले परिवारका सदस्य, आफन्त र अन्यलाई पनि जापान पुर्याए।'
यसरी 'कुक कनेक्सन' बलियो बन्दै गयो।
त्यसो त नेपालीहरू सन् १९७० मै पनि कामदारका रूपमा जापान गइसकेका थिए। त्यो बेला जापानलाई कामदारको अभाव थियो, गैरकानुनी रूपमा समेत काम गर्न छुट थियो। नेपालीहरू टुरिस्ट (पर्यटक) भिसामा जापान जान्थे र उतै हराउँथे। राम्रै पैसा कमाएर घर फर्किन्थे।
'नेपाली एजेन्टको सहयोगमा जापानी एजेन्टहरूले जापानको एयरपोर्टबाट कामदारलाई सिधै कम्पनीमा पुर्याउँथे। यसको नेटवर्क नै थियो। अटो मोबाइल कम्पनीमा काम गर्ने अनि उतै बस्ने कुरा हुन्थ्यो,' दीपेशले भने, 'कामदार अभाव भएकाले जापान सरकारले धेरै कडाइ गरेको थिएन।'
उनका अनुसार नेपालसहित विभिन्न देशका मानिस गैरकानुनी रूपमा जापान जाने र उतै लुक्ने क्रम बढेपछि सन् २००३ देखि जापान सरकारले भिसामा कडाइ गर्यो। अवैध आप्रवासी फिर्ता पठाउन थाल्यो।
नेपालीले रेस्टुरेन्ट खोल्न र नेपालबाट कुक लैजान थापेपछि टोकियोबाहिर नगोया, ओशाका, अन्य साना सहर र गाउँसम्म इन्डोकरी रेस्टुरेन्टको विस्तार भयो।
नेपालबाट गएका कुकहरूले बिहानैदेखि राती अबेरसम्म काम गरेर सस्तोमा खाना दिन थालेपछि इन्डियन लगानीका इन्डोकरी रेस्टुरेन्ट बन्द हुन थाले। नेपाली कुकले आफ्ना श्रीमतीलाई पनि जापान लगे। श्रीमतीले अन्य कम्पनीमा काम गरेर श्रीमानले भन्दा बढी कमाउन थाले। श्रीमानश्रीमतीको कमाइ भएपछि नेपालीहरू आफै रेस्टुरेन्ट खोल्न सक्ने भए।
दीपेशका अनुसार भारतीय लगानीकर्ताका इन्डोकरी रेस्टुरेन्टमा गज्जबको दृश्य देख्न पाइन्छ। नान, सी फुडु, भेज करी, ननभेज करी लगायत परिकार पाउने इन्डोकरी रेस्टुरेन्ट अगाडि ठूल्ठूल्ला भारतीय झण्डा फहराइएका हुन्छन्। कतिपयले त गान्धीको फोटो समेत राखेका हुन्छन्। यस्ता रेस्टुरेन्टमा काम गर्ने अधिकांश कुक र अन्य कामदार नेपाली हुन्छन्। उनीहरूले रेस्टुरेन्टभित्र नेपाली झण्डा राखेका हुन्छन्।

'मलाई कतिपय जापानीले इन्डोकरी रेस्टुरेन्टमा बाहिर भारतीय झण्डा, भित्र नेपाली कामदार र नेपाली झण्डा किन भनेर सोध्छन्,' दीपेश भन्छन्, 'व्यवसायको तरिका हो। भारतीयले बाहिर आफ्नो झण्डा राखेपछि नेपालीहरू आफ्नो पहिचानका लागि नेपाली झण्डा राख्छन्।'
उनका अनुसार भारतीयका रेस्टुरेन्टभित्र नेपालीले आफ्नो देशको झण्डा राख्नुले जापानको इन्डोकरी रेस्टुरेन्टमा नेपाली साम्राज्य कतिसम्म फैलिएको रहेछ भन्ने थाहा हुन्छ।
जापानका कुल रेस्टुरेन्टमध्ये इन्डोकरी रेस्टुरेन्टको हिस्सा कति होला?
यस्तो यकिन तथ्यांक छैन तर दीपेशको अनुमानमा कम्तीमा २० प्रतिशत हिस्सा छ। जापानको रेस्टुरेन्ट व्यवसायमा १८ प्रतिशत लगानी नेपालीको छ। लगानीको यो हिस्सा निकै ठूलो मान्नुपर्ने उनको भनाइ छ।
नेपालीले जापानी, भियतनामी र नेपाली रेस्टुरेन्ट पनि चालाएका छन्।
'भारतीयमार्फत जापान पुगेर उनीहरूलाई नै प्रतिस्थापन गर्दै नेपालीले रेस्टुरेन्टमा साम्राज्य फैलाउनु रोचक कथा हो। जापानको अर्थतन्त्रमा गणना हुने गरी नेपालीको उपस्थिति छ। उनीहरू भाडा तिर्छन्, कर तिर्छन्,' उनी भन्छन्, 'नेपालीले अन्य स्वादका रेस्टुरेन्टमा समेत हात हालेकाले जापानको क्याटरिङ उद्योगमा नेपालीको ठूलो प्रभाव हुनेछ। बलियो नेटवर्क बनाउन सक्ने क्षमताकै कारण नेपालीहरू सफल हुँदै अघि बढेका हुन्।'
यस्तो सफलताका बीचमा केही तितो यथार्थ पनि छ। कतिपय अवस्थामा नेपाली लगानीकर्ताले मोटो रकम लिएर नेपाली कामदार लैजाने र श्रमशोषण गर्ने गरेका घटना छन्। चर्को ब्याजमा ऋण लिएर जापान पुगेपछि श्रमशोषणमा परेको र तनाव बेहोर्नुपरेको भन्ने गुनासो दीपेशसम्म पनि पुग्छ।
नेपालीले रेस्टुरेन्ट चलाउन सुरू गरेपछि नेपाली श्रमिक जापान जाने क्रम बढ्यो। यससँगै विकृति पनि बढेको उनले बताए।

'१४–१५ लाख रूपैयाँ लिएर जापान लैजाने प्रवृत्ति देखियो। मैले कुरा गरेका मध्ये धेरै कुकले १५ लाखसम्म बुझाएको भनेका छन्,' उनले भने, 'आफूलाई भनिएको जस्तो काम र तलब नपाएको गुनासो यी श्रमिकहरूको छ। काम नै नपाएको भन्ने गुनासो पनि छ। यसो हुनु सफलताभित्रको दुःखद पक्ष हो।'
यता नेपालमा परिवारजनले जापानमा राम्रो आम्दानी हुने अपेक्षा राखेका हुन्छन् तर उताको यथार्थ दुःखद हुन्छ। दीपेशले 'नेपाली कुकको जापान सपना' समेटेर 'प्लेइङ विथ नान' नामको एउटा डकुमेन्ट्री पनि बनाएका छन्। यो डकुमेन्ट्री केही प्रतिस्पर्धामा छानिएको उनले बताए।
नेपालीहरू कामदार भिसामा जापान गएर दुःख पाएका केही घटना भए पनि समग्रमा यहाँ राम्रो रहेको उनको भनाइ छ। यसले नेपाली समाजमा आर्थिक पाटो बलियो बनाउन मद्दत गरेको छ। महिला सशक्तीकरणमा पनि मद्दत पुगेको छ।
'जापानमा भारतीयको संख्या ५० हजार जति मात्रै छ। नेपालीको संख्या दुई लाख पुगिसक्यो। यो संख्याले जापानमा नेपाली सफलताको दायरा देखाउँछ,' दीपेशले भने।