दोस्रो विशेष आर्थिक क्षेत्र (सिमरा सेज) मा उत्पादित सामग्री पनि विदेशी बजारमा पुग्न थालेका छन्। केही वर्षदेखि भैरहवा सेजको केही उत्पादनको निर्यात सुरू भएको छ।
सिमरा सेजबाट भने गत पुस महिनादेखि निर्यात सुरू भएको छ।
सेज कार्यविधिअनुसार उत्पादन सुरू गरेको तीन वर्षसम्म निर्यात नगरे पनि हुन्छ। चौथो वर्ष कम्तीमा १५ प्रतिशत र छैटौँ वर्षसम्म ३० प्रतिशत निर्यात गर्नुपर्ने हुन्छ।
तर, सिमरा सेजमा उत्पादन सुरू गरेलगत्तै बालाजी म्यानुफ्याक्चरिङ प्रालिले उत्पादन गर्ने बाल्ट्रा ब्राण्डका सबै उत्पादन निर्यात भएको विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरणले जानकारी गराएको छ।
बाल्ट्राले वार्षिक ५० हजार पिस कुकटप, ६ लाख वटा कित्ली तथा इन्डक्सन बेस कुकर, ६ लाख वटा कुकवेयर र एक लाख २० हजार वटा हिटर उत्पादन गर्ने क्षमता छ।
अहिले भने इलेक्ट्रिक कित्ली उत्पादन गरेको र ती सबै निर्यात भइरहेको सेज प्राधिकरणले जानकारी गराएको छ।
उसले पुस महिनामा १४ हजार ५३१ वटा र माघ महिनामा १५ हजार ५०४ वटा कित्ली भारत निर्यात गरेको छ।
बाल्ट्राले दुई महिनाको अवधिमा एक करोड १५ लाख ५० हजार रूपैयाँ बराबरको कित्ली उत्पादन गरेकोमा सबै निर्यात गरेको हो।
पशुपति टायल्स उद्योग पनि उत्पादनसँगै निर्यातको तयारीमा रहेको छ। प्राधिकरणका अनुसार आगामी महिनाबाट पशुपति टायल्सका उत्पादन निर्यातको तयारीमा छन्।
यो उद्योगले गत चैतबाट उत्पादन सुरू गरेको थियो। यो उद्योगले हालसम्म नेपाली बजारमा १८ करोड बढीको टायल बिक्री गरिसकेको जनाएको छ।
टायल क्षेत्रमा काम गरिरहेका भारतीय लगानीकर्ताहरूको साझेदारीका उद्योगी तुलसी रौनियारले सिमरा सेजमा टायल उत्पादन सुरू गरेका हुन्। भारतीय बजारलाई नै केन्द्रित गरेर डेढ अर्ब रूपैयाँको लगानीमा यो उद्योग सञ्चालनमा ल्याइएको छ।
यता भैरहवा सेजबाट मासिक डेढ करोड बराबरको निर्यात पुग्न थालेको छ।
'अब सेजका उत्पादन विदेशी बजारमा बढ्न थालेका छन्। धेरै उद्योगहरू उत्पादनको क्रममा पनि रहेका छन्। अब क्रमशः सेजको महत्त्व देखिन थालेको छ,' सेज प्राधिकरणका कार्यकारी निर्देशक छत्रबहादुर कटुवालले भने।
उनले केही उद्योगहरू भारतीय गुणस्तर चिह्न प्राप्त हुने वा नहुने विषयले अलमलिएको पनि बताए।
'धेरै उद्योगहरूले उत्पादन सुरू गर्न थाल्नु भएको छ। केही उद्योगी बिआइएस (भारतीय गुणस्तर चिह्न) के हुन्छ भनेर अलमलिनु भएको छ। बिआइएसमा झन्झट नभएमा धेरै उद्योगले निर्यात सुरू गर्ने छन्,' कटुवालले भने।
अहिले सिमरा सेजमा १० वटा उद्योगहरू निर्माणाधीन अवस्थामा छन्। ४ वटा उद्योगहरू सञ्चालनमा छन्। माँ तार एक्सपोर्टस् इम्पोर्टस् कच्चा पदार्थको अभावका कारण प्रभावित भएको छ।
लक्ष्मी ग्रेनाइट उद्योगले उत्पादन गरेको ग्रेनाइट र पशुपति सेरामिक्सले उत्पादन गरेको टायल भने नेपाली बजारमा बिक्री भइरहेका छन्।
सरकारले दिएको सुविधाको आधारमा उनीहरूले पहिलो चरणमा नेपाली बजारमा सामान पठाएका छन्।
सरकारले विशेष आर्थिक क्षेत्र ऐन २०७३ को संशोधन गरी पहिलो तीन वर्षसम्म निर्यात नगरे पनि हुन्छ। त्यसपछिको वर्ष १५ प्रतिशत र छैटौ वर्षसम्म पुग्दा कम्तीमा ३० प्रतिशतसम्म निर्यात गर्नुपर्ने व्यवस्था गरिएको छ। यसअघि ६० प्रतिशत निर्यात भएकै हुनुपर्ने व्यवस्था थियो।
सिमरा सेजभित्रका ८ वटा उद्योग उत्पादन सुरू गर्नुपूर्व औद्योगिक पूर्वाधार निर्माणमा लागेका छन्। थप दुई वटा उद्योग भने उत्पादनको तयारीमा छन्। यी उद्योग अधिकांश भारतीय र चिनियाँ लगानीका छन्।
व्यवसायी गुड्डु श्रीवास्तवको लगानी रहेको लक्ष्मी ग्रेनाइट इन्डष्ट्रिजले अहिलेसम्म २२ करोड रूपैयाँ बढीको ग्रेनाइट बजारमा पठाएको छ। विशेषगरी काठमाडौंमा यसको माग बढी भएको श्रीवास्तवले बताए।
यो उद्योगले मासिक दुई लाख स्क्वायर फिट ग्रेनाइट उत्पादन गर्ने क्षमता राख्छ। तर अहिले एक सिफ्टमा मात्रै उत्पादन गरेको छ।
लक्ष्मी ग्रेनाइटले भारतको राजस्तानबाट ठूलो ढुंगा आयात गर्छ। सिमरा सेजमा रहेको उद्योगमा मेसिन, बिजुली, श्रम तथा पानीको सहायताबाट ग्रेनाइट बनाइन्छ।
अहिलेसम्म यस्तो ढुंगामा पूर्णतः भारतको भर पर्नु परेको उनले बताए। एउटै ढुंगाको तौल १६ टनदेखि ५० टनसम्मको हुने उनको भनाइ छ।
भैरहवा सेजमा रहेका उद्योगमध्ये अहिले चार वटा उद्योगले नियमित निर्यात गरेका छन्। सबभन्दा बढी तिरूपति मेटलले माघ महिनामा मात्रै ९१ लाख रूपैयाँ बराबरको उत्पादन निर्यात गरेको छ।