लुम्बिनी होटल संघ नेपाल र लुम्बिनी विहार क्षेत्रबीच लामो समयदेखिको विवाद समाधान हुने भएको छ।
लुम्बिनी गुरुयोजना क्षेत्रभित्र विभिन्न राष्ट्रले निर्माण गरेका विहार तथा गुम्बाहरुमा तीर्थयात्री राख्दा लुम्बिनीका होटलहरु बन्द हुने अवस्थामा पुगेको होटल व्यवसायीहरुले गुनासो गर्दै आएका थिए।
नेपाल सरकारले विभिन्न राष्ट्रहरुलाई सम्बन्धित मुलुकको पहिचान झल्किनेगरी गुम्बा तथा विहार निर्माणको लागि लुम्बिनी विकास गुरुयोजनाभित्र प्लट छुट्याएर जग्गा उपलब्ध गराएको छ।
तर लुम्बिनी भित्र विहार तथा गुम्बा निर्माण गर्ने बहानामा सयौं तीर्थयात्रीहरुलाई राख्न मिल्ने गरी संरचना निर्माण गरिएपछि स्थानीय पर्यटन व्यवसायीहरुले विरोध गर्दै आएका थिए।
लुम्बिनी आउने तीर्थयात्रीहरु होटलमा जस्तै सुविधा सम्पन्न विहार तथा गुम्बाहरुमा बस्ने गर्दा बाहिरका होटलहरु बन्द गर्ने अवस्थामा पुगेको भन्दै लामो समयदेखि विहार क्षेत्र र होटल व्यवसायीकाबीच विवाद उत्पन्न भएको थियो।
सोही विवाद समाधान गर्न र होटल व्यवसायी र गुम्बा विहारको बिषयले अन्तर्राष्ट्रियस्तरमा समेत नकारात्मक प्रचार हुन नदिन कोषकै नेतृत्वमा लुम्बिनी विहार तथा तीर्थयात्री व्यवस्थापन कार्यविधि २०८१ तयार पारिएको हो।
लुम्बिनी विकास कोषको नेतृत्वमा लुम्बिनी होटल संघ, लुम्बिनी साँस्कृतिक नगरपालिका र जिल्ला प्रशासन कार्यालय रुपन्देहीको संलग्नतामा उक्त कार्यविधि बनेको हो। ८ बुँदे सहमति गर्दै तयार गरिएको उक्त कार्यविधिमा गुम्बा तथा विहारमा निश्चित संख्यामा भिक्षु, लामा, भन्ते, आर्थिक अवस्था कमजोर भएका तीर्थयात्री र चन्दादाताहरुलाई मात्रै राख्ने उल्लेख छ।
गुम्बा तथा विहारमा आएका धार्मिक तीर्थयात्रीहरुलाई होटल व्यवसायीहरुले समेत स्वागत सत्कार गर्ने गरी कार्यविधि तयार पारिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए।
‘रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेको उपस्थितीमा लुम्बिनी विकास कोषका पदाधिकारी, होटल व्यवसायी र विहारका प्रतिनिधिहरुको छलफलबाट कार्यविधि तयार भएपछि विहार र होटल व्यवसायीहरुबीचको विवाद र असमझदारी अन्त्य भएको छ,’ भट्टराईले भने।
प्रतिनिधिसभा सदस्य घिमिरेले होटल व्यवसायी र विहार क्षेत्रको विवादका कारण अन्तर्राष्ट्रियस्तरमा लुम्बिनीको नकारात्मक प्रचार भएको भन्दै दुबै पक्षको सहमती हुनु सकारात्मक भएको बताए।
‘लुम्बिनी अन्तर्राष्ट्रिय पर्यटकीयस्थल भएकाले यहाँ विश्वभरका पर्यटकलाई आकर्षित गर्ने गरी वातावरण बनाउनुपर्छ,’ उनले भने।
लुम्बिनी होटल व्यवसायी संघ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले गुम्बा विहार र होटल व्यवसायीविच भएको असमझदारी कार्यविधि बनेसँगै अन्त्य भएको र अब इमान्दारीपूर्वक कार्यविधि कार्यान्वयन गर्नुपर्ने बताए।