एउटा निरीह
गरिब
आफ्नै दाजुभाइबाट
अंशियारको हक छिनिएको
पीडा लिएर न्यायको आसमा
न्यायालय पुग्दछ!
उसको गेटबाटै युद्ध सुरु हुन्छ
के गर्ने, कसलाई भेट्ने कहाँ जाने
थाहा नभएपछि
बल्लतल्ल भित्र छिरेपछि थाहा हुन्छ
एउटै मात्र शब्द पाउन चुकाउनु पर्ने मूल्य
अनि रित्तो मन र खाली पकेटसँग
अनेक प्रश्न सोध्न पुग्दछ
पटक-पटक झस्किन्छ
र सोध्छ आफैँलाई
यो वधशाला हो,
रणमैदान या
अन्य केही?
जहाँ हरदम एउटा निरीह
प्राणी आँसु लिएर
बिदा हुन्छ
जहाँ सत्ता र शक्तिको आडमा
राष्ट्रसेवक नामका वर्दीधारीहरू
दिनदहाडै आँखा जुधाएको
ज्याला माग्दछन्!
लाग्छ उनीहरूको
बोलीको मूल्य तिर्नुपर्छ
उनीहरूको हाँसो प्राप्त गर्न
पकेट रित्ताउनु पर्छ
उनीहरूबाट सेवा लिन त झनै
जादुको नोट छपाउनु पर्छ
जुन
दुई ओठबाट शब्द झर्नासाथ
टुप्लुक्क हातमा थमाइदिन पर्छ!
केही नपाइने छाँट पाए भने त्यहाँ
कोही बोल्दैनन्
लाग्छ यो पशुहरूको
गोठ हो
जहाँ घाँस दिँदा बाँ-बाँ को आवाज आउँछ
नत्र खाली मौनता!
लाग्छ यो मुटुको शल्यक्रिया गर्ने
अपरेसन थिएटर हो
जहाँ बिल भरेको रिपोर्ट पाएपछि
मात्र सेतो कोट धारीले बिरामीको
आफन्ततर्फ हेर्छ!
लाग्छ यो वधशाला हो
जहाँ कुन ठाउँको
मांस मिठो भन्दै
काटिँदै बेचिन्छ
लाग्छ यो यमलोकको
यात्रा हो जहाँ
दिनदहाडै
खुलेआम
मृत्युलोकतर्फ जान आटेको
पीडित र सत्ताको आडले फुलेको
यमदूतले गाली बर्साउँदै तर्साउँछ।
लाग्छ,
यो क्रीडा स्थल हो
भोकले आक्रान्त जीव र
निरीह उसको आहाराको
वस्तु या अर्को जीव स्वयं
मुखमै आएर पस्न आटेको छ।
लाग्छ, यो महाभारतको
कौरव लोक हो
जहाँ पाण्डवहरूको निमित्त
हर बखत जघन्य र घोर
अन्यायको निमित्त
शकुनि पासा खेलिन्छ
यत्र तत्र सर्वत्र
न्यायालयको आवरण भित्र
लाजमर्दो हरकत बेहोरिन्छ।
निलो आकाश मुनिको
न्यायालयमा
किन हरदम कालो बादल
मडारिन्छ?