अब आलियासँगको सम्बन्ध राफसाफ गर्छु भन्दाभन्दै 'भ्यालेन्टाइन डे' पनि उसै सकियो।
आलियाले विश्वविख्यात पत्रिकामा तिम्रा 'आर्टिकल'हरूको अंग्रेजी 'ट्रान्सलेट' छपाउँछु भन्दै आठ/दस वटा लेखहरू मैले ई-मेल गरिदिएँ पनि।
मेरा लेख्ने हातहरू नचुमे पनि उसले मेरा लेखहरूलाई ल्यापटपमा चुमेको फोटो पठाउँथी।
यस पटकको भ्यालेन्टाइनमा उसलाई लामो अनि भावुक पत्र ई-मेल गर्ने टुंगोमा पुगेको थिएँ। तर अपसोच भ्यालेन्टाइन डे आउनु अगावै ल्यापटप बिग्रियो। फेरि मलाई वाइफाई प्रदायक कम्पनीको एजेन्टले वाइफाईको वार्षिक तिरिएको रकम सकिएको जानकारी दियो। मैले वाइफाई नजोड्ने भनिदिएँ।
आलियालाई ई-मेल गर्न अक्षरहरूको चाँजोपाँजो अब मिलाउनै नपर्ने भइगयो। वास्तवमा मेरो मन नै मरेको थियो। ल्यापटप त बनेपा पुगेर तुरुन्तै बनाउन सक्थेँ। ल्यापटप नबने पनि बजार पुगेर विद्युतीय पत्र प्रेषित गर्न सक्थेँ। तर जानाजान त्यसो गरिनँ।
आलिया चेतन भगतले लेखेको नोबल 'हाल्फ गर्लफ्रेण्ड'की रिया भन्दा पनि जब्बर थिई। कम्तीमा रिया त आफू 'माधव झाकी आधि प्रेमिका' भनेर स्विकार्थी तर आलिया प्रेमको मामिलामा कप्टी र कठोर थिई।
ऊ संसार माया र प्रेमले अडेको छ भनेर स्वीकार गर्थी, फेरि ‘आई लभ यु आलिया’ भन्दा पूर्ण दार्शनिक जवाफ दिन्थी।
जवाफ दार्शनिक भयो भन्दा पनि अमूर्त जवाफ दिन्थी। प्रेमलाई प्राप्तिसँग जोडेर नहेर्न मलाई बारम्बार सम्झाउँथी।
म भुत्तो दिमागले ‘आई लभ यु आलिया’ मेसेज पठाइरहन्थेँ। मेसेज माथि मेसेज गरिरहन्थेँ।
अति भएपछि ऊ लभ वाला इमोजी पठाइदिन्थी। म एक हप्ता मक्खै पर्थेँ।
वाइफाई नभएपछि आलियाले ई-मेलमा गर्ने क्यार-क्यार सुनिरहनु परेन। उसका घुम्न जाँदाका फोटाहरू भने मिस गरिरहेँ।
पछिल्लो पटक आलियाले बायाँ तिघ्रामा 'बटरफ्लाई'को ट्याटु खोपेको तस्बिर पठाएकी थिई। अनौठो त के भने अलिकति 'साके' बढी पिएको दिन आलिया तस्बिरहरू मलाई ई-मेल गर्थी। दिनहरू यस्तै चल्दै थिए।
'लस एन्जलस'मा आलिया पछिल्ला दिनहरूमा अलिक बढी तनावमा हुन्थी। उसको 'जब' छुटेको थियो। उसले मलाई अब भुईँ मान्छेका कथा विश्वविख्यात 'म्यागेजिन'मा लेख्ने भनेर फुर्काएकी थिई।
तर म सिकरकटेरीका आफ्नै जीवनको भुमरीमा थिएँ। आलिया मेरो निमित्त भिरमा फलेको फर्सी जस्ती भई। मैले आलियासँगको सम्बन्ध सकाउनकै लागी वाइफाई जोडिनँ।
स्मार्ट फोन थन्काएर 'टुकटुके' फोन बोक्न थालेँ। म पुरानै आफ्नै स्व लयमा फर्किएँ।
आमोइले आउँदो वैशाखमा जसरी पनि जोडी बाँध्नुपर्ने दृढताका साथ लमीहरूसँग सम्पर्क ह्वात्तै बढाइन्। कसैले छोराको जागिर रहेनछ नि आम्मै भन्दा आमोइ निराश हुन्थिन्।
छ महिनापछि आलियाले रुँदै फोन गरी। उसले अब टेक्ने र समात्ने आधार कोही नभएको बताई।
मैले लजाउॅंदै अड्किँदै ‘म छु नि आलिया’ भनेँ।
ऊ सुँक्क-सुँक्क रुँदै थिई।
विश्व प्रख्यात पत्रिका वा म्यागेजिनमा मैले पठाएका भुईँ मान्छेका कथाहरूको अंग्रेजी ट्रान्सलेट छाप्न नसकेकोमा आलियाले माफी मागी।
मेरो जन्मथलो सिकरकटेरीलाई अन्तर्राष्ट्रियकरण गर्छु भनेर दिएको बचन पुनः स्मरण गरी। अलिक पछि आलिया 'कुल' हुँदै गई। म इन्टरनेटको दुनियाँबाट हराएकोमा आक्रोश मात्रै पोखिन, ह्वाँ-ह्वाँ रुन थाली।
म संकोचले तल्लो ओठलाई दाँतले टोक्दै बसेँ।
आलियाले सिकरकटेरीमा पैसाको अभाव भयो कि भन्दा तुरुन्तै फोन काटिदिएँ।
केही हजार अमेरिकी डलर खातामा जम्मा गरेकी त हुँदी हो आलियाले। किन हेप्छे हामी 'सिकरकटेरियन' हरूलाई?
किन होला अमेरिका पुगेकाहरू गाउँ र गाउँलेलाई साह्रो हेप्छन्? खिसीटिउरी गर्छन्?
के यहाँका सबै मानिसहरू डलरको तिर्खामा छन् वा थिए त?
सिकरकटेरियनहरू आफूलाई पुग्ने धान, मकै र आलु मात्रै होइन करेसाबारीमा आफूलाई खाँचो पर्ने अर्ग्यानिक मसलाहरू रामभेडा, धनियाँ, लसुन र प्याज आफै उत्पादन गर्छन्। दही दूधको लागी गाई वा भैँसी पाल्छन्।
हो, सिकरकटेरियनहरूको जमिनमा सबैको पहुँच हिजो पनि थिएन। आज पनि छैन।
सिकरकटेरीमा पनि वर्ग समन्वय गर्नै पर्छ। वर्ग समन्वय, समता र समानताबारे आलियाले अमेरिकी राज्य लस एन्जलसमा 'पोलिटिकल साइन्स' र 'जर्नालिजम' खै के पढी?
सिकरटेरियनहरूको समाजवाद अमेरिकी नागरिकता लिइसकेकी आलियालाई खासै चासोको 'म्याटर' नहोला पनि।
सिकरकटेरियनहरू मात्रै होइनन् गाउँलेहरू मेलापातमा अर्मपर्म चलाउँछन्। बिहेको भोज र किरिया कर्ममा मात्रै होइन अनेकौँ धार्मिक अनुष्ठानमा सालको टपरी खुट्छन्। दुहुनो र बोहोतो हातैले सिलाउँछन्। बाँसको सिन्काबाट खुट्ने वा बुन्ने कला आलियालाई के मेलो? नौबिसेमा आलुको ड्याङ बनाउने कला र छमछमी धान रोप्न कसरी सकोस्?
अझै हेप्छे हऊ मलाई?
मेरो दिमागमा यस्ता अनेकौँ तर्कनाहरू चलिरहँदा आलियाको फोन टुकटुके मोबाइलमा निरन्तर आइरह्यो।
मलाई आलियाको अपमान असह्य भयो। मैले मोबाइलको रातो बटम दबाइदिएँ र बाख्रा खोलेँ।
मनको कुनामा आलियाप्रति अधिक माया हुँदाहुँदै हाम्रो सम्बन्धमा पूर्णविराम लागेजस्तै भयो।
सिकरकटेरियन माइते ठुलालाई बाख्राको गोठ दुई हप्तालाई जिम्मा लगाएँ। ढल्की भाउजूलाई खरबारीबाट स्याउला ल्याउने प्रबन्ध मिलाएँ। हिँड्ने बेला आमोइलाई दिमाग भुत्तो भएर अर्जाप्न काठमाडौँ हिँडेको भनेर बिदा मागेँ।
‘जापान र अमेरिकाका मास्टर्स डिग्रीले गँगटे खोलामा पानी खाए।
एउटी स्वास्नी ल्याउने ल्याकत नभएको तँलाई किन चाहियो अब थप दिमाग?
तेरो मगज भुत्तो नै ठिक थियो। मान्छेहरू छोराछोरी पढेन भनेर रातदिन पिरोलिन्छन्। ती मनुवाहरूले तँ जस्तो घामड देखे भने शान्त हुन्थे।’
झरिरहने धारोको पानीसरि आमोइ कराइरहिन्। उनी फत्फताउँदै थिइन्। म कोल्डाँडाबाट तलतिर लागेँ। सिकरकटेरी ओझेल पर्यो। आमोइ चुप बसिन् वा फतफताई रहिन्, म बेखबर हुँदै राजमार्ग पुग्ने बाटो तताएँ।
राजमार्गमा आइपुगेँ।
यस पटक मलाई काठमाडौँ जान मन थिएन। जब यात्रुको गन्तव्यको टुङ्गो लाग्दैन मन त्यसै भाँचिने रहेछ।
म पूर्व झापासम्म पुग्ने माइक्रो चढेँ। माइक्रोका सहचालकले मलाई गन्तव्य सोधे। म जतासुकै उत्रिन सक्छु भन्दा ड्राइभरले आँखैले सहचालकलाई केही संकेत गरे। खुर्कोट पर सेल्फी भिर पुगेपछि मोबाइल बज्यो।
फोन आलियाकै थियो। अब ऊसँगको रिसको सानो अंश पनि बाँकी थिएन। बरु मायाको उभार छचल्किँदै आयो। मेरा दुवै आँखाबाट अश्रुजल तप्प-तप्प खसे। आलियाले तुरुन्तै नेपाल आउन लागेको कुराले म खुसीको चरम उत्कर्षमा पुगेँ।
म सिन्धुली सदरमुकाम नपुग्दै चियाबारीमा उत्रिएँ।
ड्राइभरले सुन्ने गरी भने 'क्या मेन्टल रछ।'
तर मलाई बालै थिएन। म आलिया आउने खबरले फुलेल फुलेल हुँदै हौसिँदै हिँडेँ। जम्मा दुई दिन हजारौँ दिनहरूभन्दा लामा लागे। सिकरकटेरीबाटै चुवाको फूलको माला लिएर एयरपोर्टमा आलियालाई स्वागत गरेँ।
हामी लामो समय रुँदै अँगालोमा बेरिरह्यौँ। तर अचम्म आलियालाई लिन जाने मभन्दा अरू थिएनन्। हामी नगरकोट पुग्यौँ। मनमोहक फूलरूपी आलिया र मैले नगरकोटको रिजोर्टमा जीवनकै स्वर्णिम रातहरू साट्यौँ।
आलियाले फेरि गह्रुँगो भारी बोकाई।
उसलाई विश्व प्रसिद्ध म्यागेजिनमा सिकरकटेरी आसपासका भुईँ मान्छेका कथा छपाएरै छाड्ने अठोट व्यक्त गरी।
तर कसरी आलियाले रातमाटा बजारका भुईँ मान्छेका व्यवहार चलाउने 'श्याम साहु'को बायोग्राफी तयार पार्न अनुरोध गरी? बाफ रे कसरी चिनेकी हो आलियाले श्याम साहुलाई! मैले सिरी दाइलाई फोन लगाएँ। दाइले फोन उठाएनन्।
म श्याम साहुका जीवनका आरोह अवरोह भन्न सक्ने मानिसको खोजीमा लागेँ। ती व्यक्ति सिरी दाइ नै थिए। हुन त श्याम साहुलाई नचिन्ने को थिएनन् र? अहिलेका जेन जी पुस्ताले चिन्दैनन् पनि।
म श्याम साहुको आलेख तयार पार्न बसेँ। चिनेका हुन् वा नचिनेका, नजिकका हुन् वा टाढाका श्याम साहु मज्जैले छाती फुकाएर सामान दिन्थे। दश वर्षसम्म पनि उधारो नतिरे श्याम साहु खाताकै दाहसंस्कार गर्थे रे। चाहे उधारो लाने मरोस्/नमरोस्।
यी माथिका किस्साहरू मेरा बाले भनेका थिए।
तर मलाई झट्ट सम्झना आयो। मिल्सन दाइ त अमेरिकामै छन्। दाइलाई अनुरोध गर्ने कि?
आलियाले ठाडै अस्वीकार गरी।
आलियाले मलाई भोड्का थपिदिई।
‘म पनि अब सिकरकटेरियन भएँ।’
म वाल्ल आलियाको आँखामा हेरेको हेरै भएँ।
‘म तिम्री स्वास्नी भएँ। श्याम साहुको बायोग्राफी गोवाबाट हनिमुन मनाएर फर्केपछि लेख्ने हो। मैले छोडिदिएँ अमेरिका। मलाई जीवनभर सिकरकटेरियन भएर बाँच्नु छ। नो अमेरिकन, आई एम सिकरकटेरियन,’ आलिया बेडमा पल्टिई र उन्मत्त हाँसो हाँसी।