बिहान ६ बजे त्यो नेमको भिड कुनै मेलाभन्दा कम नहुने। लाग्थ्यो कक्षाकोठामा पुग्न त यत्रो दुख छ कसरी प्रतिस्पर्धा गरी जागिर खाइएला?
देख्नेलाई के थाहा होला र लोक सेवा यात्रा जति भोग्नेलाई हुन्छ।
लोक सेवा पढ्दै गर्दा एउटी केटी साथीसँग हेल्लो हाई हुन लाग्यो। बिस्तारै बिस्तारै बानी पर्दै गएपछि अब हाम्रो प्रेम बस्न लागेछ।
हुन त लोक सेवा पढ्नेको प्रेम किताब र नोटसँग हुन्छ तर ऊसँग नि प्रेम बसेछ। अरू बेला उहीँ लोक सेवा अनि साँझ एक घण्टा प्रेम सेवा।
दिन बित्दै थियो।
प्रथम पत्र त सधैँ पास भइन्थ्यो, गुल्टिने उहीँ लिखितमा न हो।
प्रेम र लोक सेवासँगै हिँडाउनु त्यति सजिलो कहाँ हुन्थ्यो र!
बेलाबेला झगडा पर्दा ऊ भन्थी, ‘त्यही लोक सेवा छ त तेरो लागि, म किन चाहियो र? त्यही किताबसँग बिहे गर्नू, छोराछोरी पाउनू।’
उसको रिस पनि एक हदसम्म जायज हो। महिलाहरू अलि भिन्न प्रवृत्तिका हुन्छन्। उनीहरू सोच्छन्, बढी समय दिओस्, निरन्तरता दिओस्, हरेक स-साना कुरा ख्याल राखिदिओस्।
तर लोक सेवाले एकोहोरो बनाएको मबाट त्यो सम्भव थिएन। त्यसैले बेलाबेला झगडा भइरहन्थ्यो।
बेलाबेला खुसी हुँदा लोक सेवा पास भएपछि मागी बिहे गरौँला भन्दै के-के सपना देख्थ्यौँ, फुर्किन्थ्यौँ, हाँस्थ्यौँ र केही तनाव कम हुन्थ्यो।
अब उता माग्न आउनेको संख्या बढ्दो थियो। पिआर वालाहरू फकाउन फुल्याउन थाल्थे। ऊ सकेसम्म त अस्वीकार गर्थी तर कतै जबरजस्ती हुने हो कि भन्ने डर कायमै रहने।
खै! यता ३/४ वर्ष भयो लोक सेवाले पत्ताएन। अब उसले बिहे प्रस्ताव गरी। म आयोग पास भएपछि गरौँला भन्थेँ।
ऊ सोध्थी- ‘कहिले पास गर्छौ आयोग? कहिले गर्छौ मलाई बिहे?’
अनुत्तरित हुन्थेँ म, पढाइ पुगेजस्तै लाग्छ तर नतिजा शून्य छ। म सम्झाउँथेँ, रोक्थेँ उसलाई पर्ख केही समय।
उमेर बढ्दो उसको पनि, भगाएर लैजाऊ भन्थी। म सक्दिन थिएँ। प्रेम नभएर हैन, बाध्यतामा भएर हो।
आफ्नै टुङ्गो नभएको उसलाई थपेर झन् विचलित हुनु थिएन मलाई।
केही समयपछि म आयोग उत्तीर्ण भएँ। अब त ऊ भन्दै थिई- ‘सरकारी जागिरे भनेपछि त बाबाले मान्नुहुन्छ होला। ममी नि मान्नुहोला, नआत्तिऊ न।’
एक दिन साँझ कुरा हुँदै गर्दा झगडा भयो।
उसले भनी, ‘खै कुन दिन यस्तासँग प्रेममा बसिछु!’
मैले हाँस्दै भनेँ, ‘त्यस दिनको राशिफलमा के लेखेको रहेछ र मलाई झेल्नु पर्यो है?’
ऊ रिसाउँदै भनी, ‘गएर हेरे भइगो त के लेखेको छ? पक्कै एक गलत निर्णयले जिन्दगीभर पछुताउनु पर्ने छ, यही त होला।’
‘तिम्रो राशि के अरे?’ प्रश्न गरेँ।
‘ए ए, फेरि एक पटक भन्नुहोस् त सर?’ ऊ रिसाई।
‘कस्तो बिर्सेछु के, भन न हेर्छु।’
‘मेरो नाम त थाहा छ नि सरलाई? कि त्यो पनि बिर्सनुभयो?’
‘नरिसाऊ न, बिर्सेर हो के। एक पटक भन अब सम्झन्छु।’
‘सम्झे सम्झिनी, भन्दिनँ म। हुन त साँचो प्रेम भएको भए पो याद आउँछ। टाइम पास न परेँ, ठिक हो सम्झनु हुन्न। गुड जब संगम सर,’ उसको रिस मर्नुको साटो झन् बढ्दै थियो।
‘अलि बढी भएन र? राशि नसम्झँदैमा यत्रो आरोप?’
‘खै मलाइ त याद छ? तिम्रो कर्कट हो।’
‘अब तिमीले सम्झियौ राम्रो, म सक्दिनँ यस्ता सम्झिन।’
‘त्यै त अब त मलाई पनि बिर्सी सक्यौ होला, मै उस्तै हुँ, मेरो जिन्दगी ह्या ह्या...’
‘ नरिसाऊ न हो, अब के-के सम्झिनु के,’मैले सम्झाउन कोसिस गरेँ।
‘पर्दैन केही सम्झिन, अब मलाई नि बिर्सिदिए हुन्छ।’
‘कसरी सम्झाऊँ के? कसरी सम्झिने के साना-साना कुरा?’
‘त्यही त बेलायतका प्रधानमन्त्रीको नाम सम्झन सकिन्छ, जङ्ग बहादुरको जन्म मिति सम्झिन्छ नसम्झिने त मेरो राशि मात्र हो,’ ऊ झोक्किई।
‘भयो यार दिमाग नखाऊ, सक्दिनँ यस्ता सानातिना कुरा सम्झिन,’ झनक्क रिस उठ्यो।
सबैतिर ब्लक गरिछे मोरीले।
एक महिनापछि एक रात ११ बजे म्यासेज आयो- ‘डियर संगम गिरी, आई नो लङ्गर सी एनि लभ कनेक्सन बिटविन अस। आई एम अनह्याप्पी हियर।’
अनि फेरि ब्लक।
केही निराश हुँदै फोन सिरानीमुनि राखेँ।
राशि नसम्झेकै भरमा ब्लक खाएँ, प्रेम छुट्यो।
खै कस्तो सिद्धान्त हो यो प्रेमको?
के गरे भइन्छ सफल?
मनमनै भनेँ ‘बरु लोक सेवा पढ्नै सजिलो यो प्रेम भन्दा त!’
सोच्दा सोच्दै निदाएछु।