लगनको महिना, त्यसमाथि बिहेका थुप्रै मण्डपहरू सजिएका थिए। जोडी बाँधिनेहरूको पो त प्रेमकथा! टुट्नेहरूको ‘दिल कथा त कसरी लेख्ने?
बिहेको एउटा ‘निमन्त्रणा कार्ड’ मेरा लागि, त्यसमाथि मेरै मान्छेको। कसरी स्विकार्नु!
च्यातिदिऊँ या फिर्ता पठाऊँ?
आखिर के नै रहेछ र?
मैले जसका लागि कसम खाएँ, उसले अरू कसैका लागि कसम खाएको जिन्दगी!
खै कसरी पो खुसी होला र!
यस्तै यस्तै सोच्दै उनको बिहेको निम्तो स्वीकार गरेँ र शुभकामना दिन पुगेँ।
घुम्टो ओढेकी थियौ। मण्डपमा सजिएर बसेकी थियौ तर अरू कसैका लागि। नजिकै छेउमा पुगेँ। सिउँदो छोपिएर तिमीलाई राखिएको थियो। तिम्रा नजरहरू जमिनतिर थिए। मेरा नजर तिम्रा आँखामा पुगे। तिम्रो सिउँदोमा पुगे तर तिम्रा नजर अन्त कतै थिए।
तिमीले हेरेर बसिराखेको त्यही जमिन र नजिकै सजिएको मण्डपमा पुगेँ। तिम्रा-मेरा लागि हुनुपर्ने मण्डप आज अरू कसैका लागि सजिएको थियो।
तिम्रो आज नयाँ जीवनको सुरुवाती दिन, पहिलो दिन। मेरो जीवनको लागि सायद अन्तिम दिन पनि हुन सक्ला। तिमी खुसीका लागि रुँदै-रुँदै जाने छौ। म तिम्रो खुसीका लागि रुँदै फिर्ती फिर्ने छु।
नयाँ घर, नयाँ आँगन, नयाँ परिवेश, नयाँ जीवन यस्तै-यस्तै सोचेर तिमी त जाउली! म कहाँ जाउँला?
अब, कहाँ पुगौँला?
केही भनिनौ मलाई। केही पनि बताइनौ। म त तिम्रै मान्छे थिएँ। हिजोसम्म, आज अनि भोलि पनि त तिम्रै छु।
अब आजबाट तिमीलाई यो प्रश्न सोध्ने आँट ममा आउने छैन।
थाह छ नि?
तिम्रा कैयौँ ती समस्याहरूमा मैले कति पटक समाधान निकालिदिएँ। तिम्रा अप्ठ्याराहरूमा मैले कति पटक मेरा काँध थापिदिएँ।
जीवनकै यस्तो अप्ठ्यारो मोडमा किन मलाई एक पटक पनि सम्झिनौ?
एक वचन पनि सोधिनौ।
मेरा आँखामा हेर्दै भन्थ्यौ नि-
‘हामी बिहे कहिले गर्ने?
हामी कहिले एक हुने?’
तिमीले भन्न सक्थ्यौ मलाई, सुनाउन सक्थ्यौ। तिम्रा बाध्यताहरू थिए भने पनि त पस्कन सक्थ्यौ!
तिमीले पठाएको निम्तोलाई मैले नकार्न सकिनँ। तिमी अन्मिएर गएको हेर्ने आँट पनि अब ममा छैन। तैपनि तिमीलाई उप्रान्त कतै ठेस नलागोस् भनी शुभकामना दिँदै छु। अब मसँग तिमीलाई दिन सक्ने चिज केही छैन यो बाहेक। बस् यति हो- खुसी हुनू। मसँग भए जस्तै हुनू। सदा जीवनमा उमंग छाओस्!
तिम्रा लागि म सपना देख्दै थिएँ। बाटाहरू पहिल्याउँदै थिएँ।
हिजो केही अप्ठ्यारो पर्दा तिमी छौ जस्तो लाग्थ्यो। आज तिमी नहुँदा म आफै अप्ठ्यारोमा परेँ जस्तो लाग्न थालेको छ।
तिमीले बिए पास गरेर मसँग बिहे गर्ने कुरा आज कोबाट खोसियो?
थाहा छैन।
अब तिम्रो पढाइ के होला?
आजबाट अब तिम्रो जीवनमा पास-फेलको नयाँ गणना सुरु हुनेछ।
तिमी शिखर चुमेपछि तिम्रा हातहरूलाई सुमसुम्याउने मेरा वाचा कहाँ तुहिए थाहा छैन।
आजबाट तिम्रो जीवनमा उतारचढावको गणना अब मिटरमा सुरु हुनेछ।
मैले तिमीलाई कतै अवरोध गरिनँ। तिम्रो इच्छा बिना केही पनि गर्न चाहिनँ। तिमी त्यस्तै हुनू ल। त्यस्तै रहनु, पहिले जस्तै।
तिम्रा इच्छा कतै भत्किएमा मलाई सम्झिनु ल।
अप्ठ्यारो परिस्थिति आइलागेमा ढोका ढकढकाउन आइपुग्नु ल।
माइतीघर दुल्हन फर्काउन आउँदा आउने बाटो कुरेर म बसौँला। थाहा छ, अब तिमी मेरा लागि आउने छैनौ। तैपनि पहिले-पहिले लुकामारी खेले जसरी, मेरै भएको बहाना बनाई आइदिनु ल।
तिमी कसैको हात समाएर आएको अनि गएको म देख्ने छु। थाहा छ, मेरा दुवै हातहरू रित्ता केवल रित्ता हुनेछन्। तैपनि तिमीलाई खुसीका साथ स्वागत अनि बिदाइ पनि गरौँला। खाली हातहरू हल्लाई रहौँला जहाँसम्म यी आँखाहरूले तिमीलाई देखिरहने छन्।
एक नजर खुसीको हाँसो मलाई देखाइदिनू। मेरा नजरहरूले त तिम्रो खुसीका लागि सदा कामना गरिरहने छन्।