ऊ एसएलसी परीक्षाको तयारीमा थियो, २०४० सालको कुरा। एउटा अलिक राम्रो कापी किन्न पनि उत्तरतर्फ करिब चौध किलोमिटर टाढाको उर्लाबारी पुग्नुपर्थ्यो।
दक्षिणी ग्रामीण क्षेत्र इटहराबाट उर्लाबारी पुग्नु निकै सकसको काम थियो, तीन घण्टा हिँड्नुपर्थ्यो।
त्यो बेला घरमा एउटा साइकल हुनु पनि शानको कुरा हुन्थ्यो। आजकाल मोटरसाइकल हुनु पनि सामान्य भइसक्यो, गाडीसम्मले शान धान्छ।
उसले साइकल चलाउन थालेको वर्षदिन जति भएको हुँदो हो। उसका काकाले चिटिक्क परेको रेल्वी साइकल किनेका थिए, खुब मन पर्थ्यो उसलाई।
ऊ काका-काकीसँगै बस्थ्यो। मौका पर्यो कि साइकल कुदाइहाल्थ्यो। काका कहिलेकाहीं चाबी लुकाइदिन्थे वा खल्तीमै बोकेर हिँडिदिन्थे।
ऊ छटपटीमा पर्थ्यो।
उसलाई अंग्रेजी ग्रामरको एउटा किताब चाहिएको थियो। बजारमा राम्रो किताब आएको छ भन्ने थाहा पायो।
एक दिन बिहान अलिक चाँडै खाना खायो, काकालाई मनायो र रेल्वी साइकलमा उर्लाबारीतिर हुइँकियो।
हुइँकिनु पनि के थियो र! भरखरै त हो साइकल चलाउन सिकेको! त्यसमाथि बडेमानका भारी ओसार्ने बयलगाडाले खोल्सा र उबडखाबड पारेको बाटामा सिकारू साइकलचालक डेढ घण्टाभन्दा कममा उर्लाबारी पुग्न सम्भव नै थिएन।
बिहान ११ बजेतिर ऊ उर्लाबारी पुग्यो। पूर्व–पश्चिम राजमार्गबाट उत्तरपट्टि किनारामै थियो ‘लालीकिरण पुस्तक पसल’, त्यहीं उसले ग्रामर किताब माग्यो, मूल्य: २० रूपैयाँ।
वर्ष दिनजति भएको हुँदो हो बीस रूपैयाँको नोट चल्तीमा आएको। हलुका रातो रङको त्यो नोट उसलाई खुब मन पर्थ्यो।
खल्तीमा बीसका दुई वटा नयाँ नोट थिए, दसैंतिर हात परेका। पाँच–दशका नोट पनि तीनचार वटा जति हुँदा हुन्।
ऊसँग खल्तीमा एकैपटक त्यति पैसा हुनु पनि निकै ठाँटको कुरा थियो।
उसले बीस रूपैयाँको नोट दिएर किताब लियो। किताबको नाम के थियो, बिर्स्यो तर ‘गौतमको ग्रामर’ भनेर नाम चलिसकेको रहेछ!
‘ग्रामरको नयाँ किताब आएको छ अरे नि’ भन्नासाथ बिक्रेताले ‘गौतमको ग्रामर हो’ भनेर सोधेको उसलाई सम्झना छ।
गौतमको त्यो ग्रामरमा उसले निकै ध्यान दियो।
परीक्षा लेख्न दुई महिनाजति बाँकी हुँदो हो।
उसका शिक्षकले ‘ल तँ अंग्रेजीमा राम्रो छस्’ भनेर फुर्क्याएका थिए। अझ राम्रो हुन उसले ग्रामर किताब खोजी गरेर किनेको थियो।
त्यो किताब पहिलोपटक २०३७ सालमै पो छापिएको रहेछ!
एसएलसी परीक्षापछि पनि उसले गायत्रीमन्त्रझैं मानेर त्यो किताब पढ्यो, अभ्यास गर्यो। त्यही किताब पढेर हो ऊ ‘डिरेक्ट–इन्डिरेक्ट स्पिच’ र ‘भ्वाइस’ अरूलाई सिकाउन सक्ने भएको।
ऊ अंग्रेजी भाषामा काल (टेन्स) खुट्याएर राम्रा वाक्य बनाउन सक्ने भयो। ट्याग क्वोइस्चन बनाउन जान्ने भयो। अरूलाई पनि सिकाउन सक्ने भयो।
चूडामणि गौतमले कुनै पनि अंग्रेज वैयाकरणले नगरेको तरिकाले टेन्स सूत्रबद्ध गरिदिए। उनी आफैंले पनि यसलाई ‘अनधिकृत’ अभ्यास भनेका छन् तर त्यही सूत्रले नेपाली विद्यार्थीलाई अंग्रेजीको टेन्स सिकायो।
आज पनि ऊ त्यही ग्रामरको जगमा अंग्रेजी भाषाका किताब पढ्ने आँट गर्छ।
त्यो किताब उसले खुब हिफाजत गरेको थियो। धरानमा आइएस्सी पढ्न जाँदा पनि सँगै लगेको थियो। धरानमा दुई वर्ष बस्दासम्म जोगाएको थियो। त्यसपछि कता पुग्यो केही मेलो पाएन।
किताब बेपत्ता भयो तर आज पनि उसलाई त्यसमा प्रेम छ, सम्मान छ।
ऊसँग आज पनि चूडामणि गौतमको ‘हाइअर इङ्लिस ग्रामर’ साथमा छ। उसलाई चाहिने जति त्यसमै छ। त्यसमाथिको अंग्रेजी ग्रामर उसलाई आवश्यक परेको छैन।
यही किताब पढेर हो उसले अंग्रेजी शब्द उच्चारणको आधारभूत ज्ञान हासिल गरेको।
यिनै चूडामणि गौतम ‘ग्रामर गुरू’ उपनामले सुपरिचित, सम्मानित र ख्यातिप्राप्त छन्। उनको पहिलो पुस्तक कुन हो उसलाई हेक्का छैन, उसले एसएलसी परीक्षाको मुखतिर २०४० सालमा बीस रूपैयाँमा किनेको त्यही ग्रामर पो हो कि!
ग्रामर गुरू भनेपछि उनले अंग्रेजी व्याकरण मात्र लेखेका हुन् कि भन्ने पर्न सक्छ। होइन, उनले त अंग्रेजी भाषामा भन्दा बढी काम नेपाली भाषामा गरेका छन्।
करिब ५० वर्षको साधनामा सानाठूला गरेर एकसय बाह्र वटा कृति लेखे। नेपाली वर्ण विन्यासमा भएको हमला र भाँडभैलोका विरूद्ध मात्रै पनि सातवटा पुस्तक–पुस्तिका लेखे।
यसअन्तर्गत ‘वर्णविन्यासका दुश्मन’ लाई उनले ‘भाषिक आन्दोलनको अन्तिम पुस्तिका’ र ‘१११औं’ भनेका छन्।
यति गरेर उनले ८२ वर्षको उमेरमा देह त्याग गरे।
देह त के हो र! अत्मा छुटेर गएपछि शीघ्रातिशीघ्र विश्रामको वस्तु भइदिन्छ, मायाको त्यो शरीर भयको स्रोत भइदिन्छ।
देहको माया क्षणिक रहेछ, शाश्वत हुने त कृति नै रहेछ। दिवंगत आत्मा त्यही कृतिमा बसेको हुँदो हो! रमाउँदो हो!
त्यसैले त हाम्रो पूर्वीय दर्शन ‘न जायते म्रियते वा कदाचिन्नायं भूत्वा भविता वा न भूयः, अजो नित्यः शाश्वतोऽयं पुराणो नहन्यते हन्यमाने शरीरे’ भन्छ नि!
चूडामणि गौतमले कसका लागि लेखेनन् र! स्कुले विद्यार्थीका लागि, क्याम्पस पढ्नेका लागि, भाषाका विद्वान–प्राज्ञका लागि आमपाठकका लागि र सबैका लागि लेखे।
उसलाई लाग्छ, अंग्रेजी व्याकरण लेख्नु उनको पेसा थियो; व्यवसाय थियो। त्यसले उनलाई नाम दियो, गौरव दियो, दाम दियो।
उनले भनेकै छन्– अंग्रेजी ग्रामर लेखेर कमाइ–आर्जन गरें, कृतकृत्य छु तर मेरो भाषा नेपाली हो।
सबैभन्दा ठूलो त अंग्रेजी ग्रामरको आर्जनले उनलाई नेपाली भाषामा साधना गर्ने हिम्मत दियो। भाँडभैलो विरूद्ध विद्रोह गर्ने साहस दियो।
उनले एउटा भिडियो अन्तर्वार्तामा आफूलाई स्कुलको शुल्क तिर्न नसक्ने गरिब भनेका छन्। पूर्वी पहाडका ती गरिब एक्काइस वर्षको उमेरमा एसएलसी परीक्षा उत्तीर्ण गरेर काठमाडौंमा धनी व्याकरण गुरू बनेका व्यावसायिक लेखनले नै हो।
त्यही व्यावसायिक लेखनले हो उनलाई नेपाली भाषा–वाङ्मयका निष्ठावान् साधक बनाएको।
भाषामा व्याकरण र शब्दकोश साह्रै निरस विषय मानिन्छ। यही निरस विषयलाई चूडामणिले विद्यार्थीका लागि रसिलो र स्वादिलो बनाइदिए।
उनले अंग्रेजी व्याकरण सिकाउन गरेको कामसँग तुलनै नहुने गरी नेपाली भाषामा काम गरेका छन्। उनले अंग्रेजी भाषा पढे, आफूले सिके अनि अरूलाई सिकाउन व्याकरण लेखे।
नेपाली भाषामा मनसावाचाकर्मणा साधना गरे, साधनाबाट मात्र लेखे। निष्ठाले र समर्पणले लेखे। आर्जन गर्न र कृतकृत्य हुन होइन, नेपाली भाषाको मौलिकता र विशिष्टता जोगाउन लेखे।
सिकाउन मात्र होइन, अध्ययन–अनुसन्धानका लागि गहकिला कृति दिए।
नेपाली भाषाको भण्डारमा अमूल्य निधि दिएर गए।
‘बृहत्तर नेपाली शब्दकोश’ उनको लामो र अथक साधनाको नतिजा हो जो नेपाली वाङ्मयको अद्वितीय सम्पदा भएको छ।
नेपाली शब्दकोशमाथि २०४० सालमै प्रहार सुरू भएको थियो। त्यो प्रहार सबल हुँदै २०६७ मा आइपुग्दा नेपाली भाषा अस्तव्यस्त भयो।
अझै अघि बढेर २०६९, २०७२ सम्ममा ध्वस्त नै भयो, सकियो।
र, २०७५ सालसम्ममा चरमोत्कर्षमा पुग्यो।
नेपाल प्रज्ञाप्रतिष्ठानले नेपाली संयुक्त अक्षर लोप गरायो, चल्तीको वर्तनी तहसनहस पार्यो। चल्तीका अक्षर नै लुप्त गराइदियो। संयुक्त अक्षर खाइदियो।
अभ्यास र अनुभवबाट होइन, कोठे बैठक र सरकारी निर्णयमार्फत ‘नेपाली बृहत् शब्दकोश’ भाताभुंग पादिदियो। नेपाली भाषाको वैशिष्ट्य नामेट पारिदियो। भाँडभैलो मच्चाइदियो।
यस हमलाबाट साह्रै खिन्न र असन्तुष्ट थिए चूडामणि गौतम।
उनी नेपाली संयुक्त अक्षर र प्रचलित हिज्जे परम्पराका पक्षपाती थिए, यो जोगाउने अभियानमा थिए। नेपाली भाषा शुद्ध लेख्नु, लेखाउनु र यसको मौलिकता जोगाउन उनको मूल ध्येय थियो।
उनी संस्कृत भाषाका शब्द नेपाली भाषामा प्रयोग गर्दाको तत्सम रूपझैं अन्य भाषाका आगन्तुक शब्द पनि तत् तत् भाषाकै उच्चारणअनुसार तत्सम रूपमै लेख्नुपर्ने मान्यतामा थिए।
उनी ‘सहिद’ होइन ‘शहीद’ अकाट्य शुद्ध हो, ‘फुल’ र ‘फूल’ श्रूतिसमभिन्नार्थी शब्द हुन् भन्ने मान्यतामा अविचलित रहे।
उनले ‘फूल’ लाई ‘फुल’ को अनेकार्थी शब्द मान्ने समूह खारेज गरिदिए।
यही मान्यतामा उनले नेपाल प्रज्ञा प्रतिष्ठानलाई हाँक दिएर ‘संक्षिप्त नेपाली शब्दकोश’ लेखे। यस शब्दकोशको खास विशेषता नै आगन्तुक शब्दको तत्सम रूप प्रयोग हो।
यसकै विस्तारित रूप हो ‘बृहत्तर नेपाली शब्दकोश’ जसमा २०६४ पृष्ठमा ८७ हजार शब्दको प्रविष्टि छ।
नेपाली भाषाका साधकहरूले यो शब्दकोशको मुक्त कण्ठले प्रशंसा गरेका छन्।
शरच्चन्द्र वस्तीले यसलाई ‘अमूल्य उपहार’ ठहर गर्दै लेखेका छन्– शुद्ध र सही वर्णविन्यासका लागि कुन शब्दकोश प्रयोग गर्ने? मैले आजसम्म यस प्रश्नको उत्तर दिन सकेको थिइनँ, अब उत्तर हाजिर छ– चूडामणि गौतमको बृहत्तर नेपाली शब्दकोश।
उनको निष्कर्ष छ– नेपाली भाषालाई वर्णविन्यासका विकृतिको आत्मघाती अराजकताबाट मुक्त गराउने बृहत्तर संकल्प र सामर्थ्यले समेत ओतप्रोत छ।
लेखक केदार शर्माले ‘सुपरिचित कोशकार चूडामणि गौतमको फराकिलो अनुभव र अविश्रान्त ऊर्जाको प्रतिफल’ भनेका छन्।
उनले लेखेका छन्– तपाईंलाई आफूले सिकेपढेजसरी नै शहीद, दशैँ, दूध, फूल आदि लेख्न मनपर्छ भने, र तपाईंलाई एकेडेमीको भाषिक बलमिचाइँ मन पर्दैन भने तपाईंको लेखनलाई सघाउने शब्दकोश बल्ल बजारमा आएको छ।
त्यही हो बृहत्तर नेपाली शब्दकोश।
चूडामणि गौतमले नेपाल प्रज्ञा प्रतिष्ठानले ध्वस्त बनाएर विवादमा पारेका शब्दहरू संकलन गरेर ‘विवादित वर्णविन्यासको नेपाली शब्दकोश’ लेखे।
शिक्षामन्त्रीलाई भुलभुलैयामा पारेर सरकारी निर्णय गराईकन त्यसकै आडमा नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली हिज्जेमा हमला गरेपछि, फरक हिज्जेका श्रूतिसमभिन्नार्थी शब्दलाई एउटै हिज्जेमा ढालेर ‘अनेकार्थी शब्द’ मा दर्ज गरेपछि चूडामणि गौतमले ‘फुलको माला क्या मज्जा’ लेखेर चोटिलो कटाक्ष गरे।
नेपाली शब्दमा एक थरीले मच्चाएको भाँडभैलोविरूद्ध उनी सशक्त विद्रोही भएर निस्किए।
हुनुपर्ने त फूलको माला पो थियो।
नेपाली शब्द शुद्ध ढंगले लेख्न सिकाउने उद्देश्यले ‘शुद्ध नेपाली यसरी लेख्ने’ पनि लेखे।
बृहत् नेपाली शब्दकोशमा नेपाल प्रज्ञा प्रतिष्ठानले गरेको हमलामा सर्वोच्च अदालतले रोक लगाइदिएपछि चूडामणि प्रशन्न देखिएका थिए।
उनले ‘दुई हातका औंलाभरिका मान्छेले मातृभाषा (नेपाली) प्रति जघन्य अपराध गरेको’ र पाठ्यपुस्तकमार्फत ‘एउटा पुस्ता बरबाद गरेको’ भनेर असन्तुष्टिको ज्वाल नै ओकलेका थिए।
जीवनको उत्तरार्धमा आमपाठकका लागि जीवन, जगत् र आत्मस्वीकृतिको सेरोफेरोमा ‘बाफरे जिन्दगानी!’ नामको सशक्त कृति दिए।
उनले एउटा कथा संग्रह पनि लेखेका छन्।
नेपाली भाषाका एक साधक बलदेव गाउँले चूडामणि गौतमलाई कामको अठोट गरेपछि कम्मर कसेर अघि बढ्ने निष्ठावान् साधक मानेका छन्।
बलदेवले चूडामणि गौतमलाई सधैं युवा जोशका साधक र लेखकका रूपमा चिने।
नेपाली भाषा–वाङ्मयका अविश्रान्त साधक चूडामणि गौतमको भौतिक शरीर महापञ्चभूतमा विलीन भयो। यो प्राकृतिक सत्य एक दिन घटित हुनु नै थियो जो उनको बयासीऔं वर्षमा भयो।
उनले जे दिएर गए त्यो अतुलनीय दिए, अनुमप दिए। नेपाली भाषालाई जीवन्त र गतिशील राख्ने युगीन कृति दिए।
ग्रामर गुरू, कोशकार, भाषाका साधाक चूडामणि गौतमप्रति हार्दिक श्रद्धासुमन!
तेह्रौं दिनको पुण्य तिथिमा हार्दिक श्रद्धाञ्जलि!
त्यो दिव्य आत्माको चिर शान्तिको कामना!
शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना!