हाम्रा मठ–मन्दिर, चिबाः, बहा:, बही: आफैंमा सिंगो संग्रहालय हुन्। यसलाई हामी घण्टौं हेरेर दंग पर्न सक्छौं, वर्षौं लगाएर अध्ययन गर्न सक्छौं। यसैमा अर्को आधुनिक संग्रहालय खोल्नुको के अर्थ?
अमेरिकाको न्युयोर्कस्थित रूबिन म्युजियमको सहभागितामा काठमाडौंको इतुंबहाः मा संग्रहालय खोल्न लागेपछि यतिबेला केही सम्पदा अभियानकर्मी एवं स्थानीयले विरोध गरेका छन्।
‘नेपालको पहिलो विहार संग्रहालय’ भनेर खोल्न लागेको यो संग्रहालयलाई नेपाली विहारमाथिको विदेशी हस्तक्षेप मान्दै उनीहरूले विरोध गरेका हुन्।
सम्पदा अभियानकर्मी एवं म्युजियम अफ स्टोलन आर्टका संस्थापक रवीन्द्र पुरीले यस घटनाले ब्रिटिस साम्राज्य विस्तारको झल्को दिएको बताए।
‘संग्रहालय भनेको पश्चिमाहरूले ल्याएको अवधारणा हो। त्यहाँ सामग्रीहरू जानकारीसहित प्रदर्शन गरिएको हुन्छ तर त्यसमा मान्छेको भावना जोडिन्न,’ उनले भने, ‘संग्रहालयमा राखिएका मूर्ति वा महत्वपूर्ण सामग्रीको महत्व त त्यो जहाँबाट ल्याइएको हो, त्यही रहनुले दिन्छ। संग्रहालयमा ल्याइएपछि त्यो मृत बराबर हुन्छ।’
११ औं शताब्दीतिर स्थापना भइको इतुंबहाः काठमाडौं उपत्यकामा रहेका १८ महायान बौद्ध महाविहारमध्ये सबैभन्दा पुरानो र महत्वपूर्ण विहार हो। संस्कृत भाषामा यसको वास्तविक र पूरा नाम श्री भास्करदेव संस्कारिता केशचन्द्र कृत परवर्त महाविहार हो। यो विहारलाई राजा भाष्करदेवका छोरा केशचन्द्रले निर्माण गरेको मानिन्छ। यति पुरानो इतिहास बोकेको विहारभित्र संग्रहालय खोल्नाले विहारको महत्व बढाउनुभन्दा उल्टो घट्ने पुरी बताउँछन्।
‘संग्रहालय र विहारमा मान्छे जाने फरक कारण हुन्छ। मान्छेहरू सिसाभित्र सजाएर राखिएका सामग्रीले आकर्षित त होलान् तर यसले विहारमा हुने पूजाआजा र वर्षौं पुरानो संस्कार, रितिथिति र परम्परालाई कालान्तरमा असर पुर्याउँछ,’ उनले भने।
इतुंबहाःका स्थानीय ज्योतिरत्न शाक्य पनि रूबिनको सहयोगमा विहारमा संग्रहालय खोल्नमा आफ्नो समर्थन नरहेको बताउँछन्। उनका अनुसार इतुंबहाः आफैंमा सिंगो संग्रहालय भएकाले विदेशी सहयोगमा म्युजियम खोल्नाले यहाँ कुनै अर्थ राख्दैन।
‘बहाः भनेको हामी शाक्यहरूको एउटा विशेष ठाउँ हो जहाँ पूजा, रितिथिति, चुडाकर्म लगायत गतिविधि हुन्छ। हाम्रो ठाउँमा केही बनाउनु छ भने हामी आफैंले सक्षम भएर पहल गर्नुपर्ने हो। त्यसमा कुनै विदेशी हस्तक्षेप हुनुहुन्न,’ उनले भने, ‘अहिले विहारमा उनीहरूको नाम जोडेर संग्रहालय खुल्न लागेको छ। भोलि–पर्सी उनीहरूकै नाम जोडेर हाम्रो सम्पदा र परम्परामा पनि हस्तक्षेप हुन के बेर! फेरि विहार भनेको जो कोहीलाई छिराउने ठाउँ पनि त होइन। यदी उनीहरूले संग्रहालय नै बनाउने हो भने विहारबाहिर जता बनाउँदा पनि हुन्छ।’
रूबिन म्युजियममा नेपालबाट चोरी भएर पुगेका अझैं पनि सयौं कलाकृति छन्। ती कलाकृति फिर्ता गर्न खासै चासो नदेखाएको रूबिनले एकाएक विहारमा संग्रहालय खोल्नुलाई शंकास्पद मान्छन् सम्पदा अभियनता एवं अधिवक्ता सञ्जय अधिकारी।
‘चोरिएका सामग्री खरिद गरेर प्रदर्शन गरिरहेको रूबिनको आफ्नै छवि राम्रो छैन। उनीहरूकहाँ हाम्रै कति सम्पदा थन्किएर बसेका छन्। यस्तोमा हाम्रो विहारमा भएका पुराना सामग्री प्रदर्शन गर्दै संग्रहालय खुल्नुमा म उनीहरूको राम्रो नियत देख्दिनँ,’ उनले भने।
इतुंबहा: बाट चोरी भएको अप्सरा। सन् २०२२ मा अमेरिकास्थित रूबिन म्युजियमबाट उक्त अप्सरालाई फिर्ता ल्याइएको थियो। तस्बिर: इतुंबहा:को फेसबुकबाट।इतुंबहा: र रूबिन म्युजियमको निकटता सन् २०२२ बाट बढेको देखिन्छ। इतुंबहाः बाट चोरी भएको काठको अप्सराको आकृति रूबिन म्युजियमले सन् २००३ मा खरिद गरेको थियो। उक्त अपसरालाई सन् २०२२ मा यहाँ फिर्ता गरेयता रूबिन, इतुंबहाः संरक्षण समिति र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच साझेदारी सुरू हुन थाल्यो। त्यही साझेदारी अन्तर्गत इतुंबहाःमा संग्रहालय बनाउने कुरा आएको हो जसका लागि रूबिनले २० हजार अमेरिकी डलर सहयोग गरेको छ।
लुम्बिनी बौद्ध विश्वविद्यालयकी प्राध्यापक एवं इतुंबहाः संग्रहालयको व्यवस्थापनमा लागेकी स्वस्ति राजभण्डारीका अनुसार संग्रहालयमा इतुंबहाःकै संग्रहमा रहेका सामग्री अनि रूबिन र अमेरिकामै रहेको मेट्रोपोलिटन म्युजियम अफ आर्टसबाट फिर्ता आएको टुँडाल राखिनेछन्।
‘हामीले इतुंबहाःमा रहेका सामग्रीहरू अभिलेखिकरण गर्दा करिब पाँच सयवटा फेला पारेका थियौं। इतुंबहाः संग्रहालयमा बन्न लागेको तीनवटा ग्यालरीमा अहिले सय वटा सामग्री प्रदर्शनीमा राखिनेछन्,’ उनले भनिन्।
इतुंबहाः संग्रहालय यही शनिबार खोल्ने तयारी हुँदैछ। संग्रहालयको उद्घाटनमा बोलाइएका केही प्रमुख अतिथिहरूले पनि विहारमा संग्रहालय खोल्न लागेको कुरामा विरोध जनाउँदै नआउने बताएका छन्।
त्यहीमध्येका एक हुन् प्रतिनिधि सभा सांसद विराजभक्त श्रेष्ठ। उनले आफूहरू निर्वाचित हुनुभन्दा अघि नै विहार र रूबिन म्युजियमबीच सम्झौता भइसकेको बताउँदै यसमा आफ्नो समर्थन नरहेको बताए।
‘हामीसँग पुरातत्व विभागजस्ता सरोकारवाला निकायहरू छन् जसको सहयोगबाट यहाँ संग्रहालय खुल्नुपर्ने हो। विदेशी आएर हाम्रो सम्पदालाई जोगाउँछु भन्नु निकै दुर्भाग्यको कुरा हो। हाम्रो पुर्खाले आर्जेको सम्पत्तिमाथि विदेशी हस्तक्षेप मलाई मन परेको छैन। त्यही भएकाले मैले नजाने निर्णय गरेको हुँ,’ उनले भने।