विगत केही वर्षदेखि फागुन साहित्य महोत्सवको मास बनेको छ।
फागुन ५ गतेदेखि ७ गतेसम्म सुर्खेतमा कर्णाली उत्सव चल्यो। फागुन १४ देखि १६ गतेसम्म पूर्वी झापाको काँकडभिट्टामा चल्ने कला साहित्य उत्सवले रौनक थपिरहेको छ।
फागुन १५ देखि १६ गतेसम्म काठमाडौं उत्सवले साहित्यानुरागीहरूको जमघट र कला–विमर्श बढाएको छ।
पोखराको फेवा किनारमा नेपाल साहित्य महोत्सवको १२ औं शृंखला चलिरहेको छ। देशभरिबाट साहित्यानुरागी त्यहाँ धुइरिएका छन्। विदेशकासमेत प्रख्यात सर्जकको जमघटले पोखरा साहित्य पर्यटनको संगमस्थल, तीर्थस्थलजस्तो देखिएको छ।
यसबाहेक धादिङमा बागमती साहित्य महोत्सव र विराटनगरमा कोशी विचार उत्सवले साहित्यको ओज बढाइरहेका बेला दक्षिणपूर्वी कैलालीको टीकापुरको आँगनमा पनि यस्तै साहित्य महोत्सव फागुन २४ देखि २६ गतेसम्म चल्दैछ।
ढल्कँदो शिशिर यामलाई साहित्य सम्मेलनले उत्सवमय तुल्याइरहँदा पूर्वी पहाडी जिल्ला खोटाङमा भने बाँस सम्मेलन चलिरहेको छ।
नेपाली जनजीवनको बाँस अभिन्न हिस्सा हो। नेपालका सबै जातजातिको संस्कृति, परम्परा र रीतिरिवाजमा बाँस तथा यसबाट निर्मित सामग्री प्रयोगको आफ्नै विशेषता छ।
घरका धुरी कस्ने चोया–भाटादेखि दैनिक जीवनमा प्रयोग हुने सामग्रीमा समेत बाँसको उपयोग सदियौंदेखि चलिआएको छ। बाँसको गुदी काढेर निकालिने चोयाबाट निर्मित डोका, डाला, ढकिया, हरचाली, थुन्से, मान्द्रो, भकारी आदि सामग्री घर–व्यवहारमा दिनहुँ चल्तीमा आउँछन्। आल्मुनियम, स्टिल आदिका सामग्री चल्तीमा आउनुपूर्व बाँसका ढुंगाहरूमा दही, दूध, मोहीदेखि पानीसमेत राख्न प्रयोग गरिन्थ्यो।
प्रत्येक समुदायमा बाँसबाट सामग्री बनाउने पुस्तैनी सीप भएका मानिसहरू अहिले पनि भेटिन्छन्। सीप पुस्तान्तरणसमेत हुँदै आएको पाइन्छ।
पुर्खाबाट पुस्तान्तरित सीपबाट बनाइएका सामग्री घरायसी उपयोगका लागि मात्रै आयआर्जनको माध्यमसमेत बनिरहेको छ। उनीहरूले हाट, बजारलगायत स्थानमा पुर्याएर बेचबिखन गर्दै घरको गर्जोसमेत टारिरहेका हुन्छन्।
बाँसको गरिमा र महत्त्वलाई अझ बढोत्तरी दिन दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले तीन दिवसीय बाँस सम्मेलन आयोजना गरिरहेको छ।
बाँसको महत्ता र गुणवत्ता झल्काउन नगरपालिकाले बाँसबाटै मञ्च निर्माण गरेको छ। पोडियमदेखि कार्यक्रमको ब्यानरसम्म बाँसबाटै बनाइएका छन्।
‘मर्दादेखि पर्दासम्म हाम्रो जीवनसंस्कृतिमा बाँस अपरिहार्य छ। हिमालदेखि तराईसम्म बाँसको उपलब्धता सुलभ छ। तर हामीले यसको महत्त्व अझै ठम्याउन सकेका छैनौं। यसैलाई उजागर गर्न र हाम्रो जीवनशैलीको हिस्सा रहेको बाँसलाई स्वरोजगार र आयआर्जनको भरपर्दो माध्यम बनाउन हामीले बाँस सम्मेलन आयोजना गरेका हौं। यसबाट रोजगारीको लागि विदेशको निर्भरता घटाउने र आयआर्जनको बाटोसमेत देखाउने हाम्रो विश्वास छ,’ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिए।
खोटाङ जिल्लाको सदरमुकाम समेत रहेको दिक्तेलमा बिहीबारदेखि सुरू भएको सम्मेलन शनिबारसम्म चल्नेछ।
खोटाङमै पहिलो बाँस सम्मेलन राख्नुको विशिष्ट कारण रहेको उनले बताए।
उनकाअनुसार खोटाङमा विभिन्न प्रकारका बाँस पाइन्छन्। त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा रामेश्वर अधिकारीले गरेको खोज–अन्वेषणानुसार त्यहाँ १६ प्रकारको बाँसको पहिचान भएको छ। त्यसको वैज्ञानिक परीक्षण भइरहेको नगरप्रमुख भट्टराईले बताए।
विश्वमा १४६२ भन्दा बढी प्रजातिका बाँस पाइने अनुमान छ। नेपालमा मात्रै ५३ प्रजातिका बाँस पाइने विज्ञहरूको दाबी छ।
त्यसका अलावा खोटाङमा दुर्लभ रेडपाण्डासमेत पाइन्छ। केही दिनअघि मात्रै त्यहाँ रेडपाण्डा फेला परेको पनि उनले बताए।
रेडपाण्डाको बासस्थल पनि बाँसझ्याङ हो। खानेकुरा पनि बाँस नै भएकाले यसको प्रबर्द्धन हुनु अत्यावश्यक रहेको उनले बताए।
‘बाँस छिटो हुर्कनसक्ने (२४ घन्टामा ९१० मिलिमिटर (३६ इन्च), जता पनि पाइने सुलभ एकदलीय वनस्पती हो। यसको जरा, काण्डदेखि पातसम्म काम लाग्छ। जराबाट महँगा सरसजावटका सामग्री बनाउन सकिन्छ। पछिल्लो समय मूर्तिकलामा समेत बाँसका जराको प्रयोग हुने गरेको देखेका छौं। बाँसको जरामा विभिन्न कला भरेर हस्तकलाको सामग्री बनाउन थालिएको छ। यसको पात पशुचौपायाको आहारको रूपमा प्रयोग गर्न सकिन्छ,’ उनले भने, ‘हामीले यसको लाभ बुझ्न सकेका छैनौं। बाँस सम्मेलन नै आयोजना गरेपछि यसको महत्त्व अझ बढ्ने विश्वास लिएका छौं।’
महोत्सवमा ४०–४२ वटा स्टल राखिएको उनले बताए। त्यहाँ बाँसबाट बनाइएका परम्परागतदेखि आधुनिक एवम् सरसजावटका सामग्री राखिएको उनले बताए। स्टल बनाउन पनि बाँसबाटै निर्मित सामग्रीको प्रयोग गरिएको छ। यसका अतिरिक्त बाँसको बहुउपयोगबारे पनि केही स्टलबाट जानकारी दिइनेछ।
बाँसबाट भूकम्पमैत्री घरलगायत संरचना बनाउन सकिने उनले बताए। हाम्रोजस्तो भूकम्पको उच्च जोखिममा रहेको मुलुकमा बाँसबाट बनेका हलुका र तुलनात्मकरूपमा कम खर्चिलो संरचना उपयोगी हुने पनि उनले बताए।
संघीय सरकारले बाँस उपयोगसम्बन्धी नीति बनाइदिए, यसबाट निर्मित सामग्रीहरूको सरकारी दरभाउ तोकिदिए बाँसको उपयोग बढ्ने उनले बताए।
नगरपालिकाले १ लाख १७ हजार रुपैयाँ खर्च गरेर बाँसबाटै नगरप्रमुखको कार्यकक्ष बनाएको छ। त्यस्तै २ लाख ७० हजार खर्च गरेर स्तनपान कक्ष बनाएको छ। काठको तुलनामा यो निकै सस्तोमा बनेको हो।
तर भुक्तानीका लागि निकै सकस व्यहोर्नुपरेको उनले बताए। सरकारले बाँसबाट निर्मित सामग्रीको दरभाउ नतोकेकाले रकम भुक्तानीका लागि बर्दिबासमा रहेको अख्तियार दुरूपयोग अनुसन्धान कार्यालयसँगसमेत समन्वय गर्नुपरेको कठिनाइ नगरप्रमुख भट्टराईले सुनाए।
‘बाँसबाट कार्यकक्ष, स्तनपान कक्ष त बनायौं। तर संघीय सरकारले बाँसबाट बनाएको सामग्रीको भुक्तानीका लागि दररेट नै नतोकिएकाले अख्तियारमा उजुरी पर्ने सम्भावना देख्यौं। त्यसपछि अख्तियारको बर्दिबासस्थित कार्यालयसँग समन्वय गर्यौं। त्यहाँका कार्यालय प्रमुखले भ्रष्टाचार नहुने गरी गरिएका भुक्तानीका किसिममा समस्या नहुने बताएपछि रकम निकासन भयो,’ उनले भने, ‘त्यसकारण बाँस उपयोगसम्बन्धी नीति बनोस् भन्ने यो सम्मेलनको अभिप्राय हो।’
बाँस सम्मेलनमा १३ जना विषयविज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नेछन्। विज्ञहरूको प्रस्तुति, सुझाव, निष्कर्षलाई समेटेर दिक्तेल घोषणापत्र जारी गरिने पनि भट्टराईले बताए।
सम्मेलनको अन्तिम दिन शनिबार खोटाङलाई बाँसको राजधानी घोषणा गर्ने तयारी भइरहेको पनि उनले बताए।



-1740723528.jpeg)
