वसन्तपुर दरबार स्क्वायर काठमाडौंको एक मुख्य पर्यटन केन्द्र मात्र होइन, धेरै जनाको रोजगारीको मुकाम पनि हो। बिहानदेखि बेलुकीसम्म भीडभाड भइरहने यो ठाउँले धेरैलाई बाँच्ने आधार दिएको छ।
वसन्तपुरमा पछिल्लो समय फस्टाएको रोजगारी हो फोटोग्राफी, जसबाट राम्रो क्यामरा भएका कलेज पढ्ने युवाहरूले स्वावलम्बी बन्ने बाटो पाएका छन्।
तपाईंले याद गर्नुभएको होला, अचेल वसन्तपुर डबली र हनुमानढोका दरबार परिसरमा महँगा क्यामरा बोकेर हिँडेका केही युवाहरू देखिन्छन्। उनीहरूको काम वसन्तपुर क्षेत्र घुम्न आएका पर्यटकको रूचि र मागअनुसार फोटो खिचिदिने हो।
हुन त अचेल हरेक व्यक्तिसँग हात-हातमा मोबाइल क्यामरा हुन्छ। त्यही क्यामराले एकअर्काको फोटो खिच्ने वा सेल्फी लिने चलन व्यापक छँदैछ। तर कतिपयलाई सेल्फीले धित मर्दैन। उनीहरू पृष्ठभूमिमा सुन्दर दृश्य देखिने गरी स्तरीय फोटो खिचाउन चाहन्छन्। वसन्तपुरबाट देखिने हनुमानढोका दरबारको गद्दी बैठक, नौतले दरबार र झोछेँको झिलिमिली उनीहरूको निम्ति आकर्षण हुने गर्छ।
हो, तिनै व्यक्तिहरूलाई सेवा दिइरहका छन्, यहाँ घुमी हिँड्ने युवा फोटोग्राफरले।
उनीहरू कसैलाई कचकच गर्दैनन्। फोटो खिचाउनुस् भन्दै पर्यटकको पछाडि पनि लाग्दैनन्। खाली क्यामरा बोकेर घुमिरहेका हुन्छन्। कोही व्यक्ति फोटो खिचाउन इच्छुक देखिए पोज सिकाई सिकाई खिच्न तयार हुन्छन्।
मान्छेहरू जस्तो खालको फोटो खिचाउने रहर गर्छन्, उनीहरू त्यस्तै खिचिदिन्छन्। यही नै उनीहरूको काम हो; काठमाडौंमा बसेर पढ्ने र बाँच्ने आधार हो।
तिनैमध्ये एक हुन्, आर्यन रायमाझी।

आर्यन यो पेसामा कसरी लागे? किन यही काम रोजे? यसमा के-कस्ता चुनौती र अप्ठ्यारा भोगिरहेका छन्? हामीले यसबारे उनीसँग कुराकानी गरेका छौं।
रोजगारी निम्ति कसैलाई दु:ख नदिई जानेको काम गर्दा पनि काठमाडौं महानगरपालिकाका नगर प्रहरीले दु:ख दिने, क्यामरा खोस्ने र चोरझैं लखेट्ने गरेको अनुभव पनि उनले हामीसँग बाँडे।
आर्यनले यो काम सुरू गरेको एक वर्ष भयो। त्यसअघि उनी आफै पनि यहाँका फोटोग्राफरबाट फोटो खिचाउँथे। उनलाई फोटोग्राफीमा रूचि पनि थियो। त्यसैले रोजगारीको बाटो खोज्ने क्रममा यो कामले आकर्षित गर्यो।
उनले सोचे — मिहिनेत गर्ने हो भने फोटो खिचेरै गुजारा चलाउन सकिन्छ।
यही सोचेर उनी काँधमा क्यामरा बोकेर वसन्तपुर आए र फोटोग्राफरको पेसा अंगाले।
'सुरूमा मेरो आफ्नै क्यामरा थिएन। दाइको क्यामरा मागेर काम सुरू गरेको हुँ,' उनले भने, 'कलेज पढ्दापढ्दै वसन्तपुरमा दाइहरूसँग फोटोग्राफी सिक्ने मौका पाएँ। जसोतसो आफ्नै खुट्टामा उभिने मौका पाउँदा मलाई एकदमै खुसी लाग्यो।'
काम राम्रो चल्दै गएपछि उनले दाइकै क्यामरा किने र त्यसैबाट आफ्नो काम जारी राखे।
यो एक वर्षमा आर्यनमा आएको सबभन्दा ठूलो परिवर्तन नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने सोच हो।
'पहिले मलाई नेपाल बसेर केही काम छैन भन्ने लाग्थ्यो। जसरी भए पनि विदेश जान्छु भन्ने सोच थियो। वसन्तपुरमा फोटोग्राफी गर्न थालेपछि मेरो सोचाइ परिवर्तन भएको छ। मलाई अचेल नेपालमै बसेर पनि राम्रोसँग जीवन चलाउन सकिन्छ भन्ने लागेको छ,' उनले भने।
उनी आफ्नो कामबाट सन्तुष्ट छन्। मान्छेसँग हात-हातमा मोबाइल क्यामरा भए पनि धेरैलाई राम्रो फोटो खिच्ने तरिका थाहा हुँदैन। मोबाइलमा भएका सबै सुविधा उपयोग गर्न जान्नेहरू पनि कमै हुन्छन्। महँगा मोबाइल बोक्नेले पनि स्तरीय फोटो खिच्न सक्दैनन्। त्यस्ता व्यक्तिको फोटो खिचेर खुसीको पल जोगाइदिन सकेकामा सन्तोष लागेको उनी बताउँछन्।
'वसन्तपुर घुम्न आउनेहरू प्राय: खुसी मुडमा हुन्छन्। हाँसखेल गरिरहेका हुन्छन्। उनीहरू आफ्नो खुसीको क्षण क्यामरामा कैद गर्न चाहन्छन् र पछिसम्म सुरक्षित राख्न चाहन्छन्,' आर्यनले भने, 'हामी उनीहरूको सम्झना संकलन गर्ने र त्यसलाई जोगाइदिने काम गर्छौं।'
'मान्छेको खुसीको पल जोगाइदिनु जति महत्त्वपूर्ण काम अरू के होला?' उनले भने।

उनका अनुसार अहिले वसन्तपुर क्षेत्रमा लगभग १२ जना फोटोग्राफर सक्रिय छन्। उनीहरूबीच प्रतिस्पर्धा त छ, तर रिसिइबी छैन।
'सबैले आफ्नो भागको काम गर्ने हो। हामी अरूको ग्राहक खोस्न जाँदैनौं। यहाँ दिनभरि यति धेरै मान्छे आउँछन्, सबै फोटोग्राफरलाई पुग्दो नै हुन्छ,' उनले भने, 'कहिलेकाहीँ त भ्याइ-नभ्याइ नै हुन्छ।'
कस्ता कस्ता मान्छेसँग व्यवहार गर्नुपर्छ त?
मेरो यो प्रश्नमा उनले भने, 'अरू काम जस्तै हो; कुनै ग्राहक राम्रा हुन्छन्, कुनै हुँदैनन्। आफूले खिचेको फोटो मनपराएर तारिफ पाउँदा खुसी लाग्छ। जति मिहिनेत गर्दा पनि ग्राहक खुसी भएनन् भने बोर लाग्छ।'
अनि फोटो खिच्नुस् भन्दै जाँदा मान्छे रिसाउँदैनन्?
'हामी कसैलाई जबर्जस्ती गर्दैनौं। मन हुनेले खिच्छन्, नहुनेले खिच्दैनन्। यसो मान्छे हेरेर फोटो खिचाउन रूचि छ जस्तो लाग्यो भने एकपल्ट सोध्ने हो, हुन्छ भन्यो भने खिच्ने, नाइँ भन्यो भने आफ्नो बाटो लाग्ने। कर गर्ने वा पछाडि लाग्ने काम कहिल्यै गर्दैनौं। नाइँ भन्नेहरूको पछाडि लाग्ने फुर्सत पनि हुँदैन।'
'मेरो अनुभवमा मान्छेलाई यस्तो राम्रो, ऐतिहासिक ठाउँमा आउँदा स्तरीय फोटो खिच्न पाए हुन्थ्यो भन्ने हुन्छ। त्यसैले राम्रो मोबाइल क्यामरा बोक्नेहरू पनि हामीकहाँ आएर फोटो खिच्दिनुस् भन्छन्,' उनले भने, 'त्यस्ता मान्छे भेटे हामी खुसी खुसी खिच्दिन्छौं। कोही ग्राहक फोटो देखेर खुसी हुँदै फेरि फेरि आउँछु भनेर जान्छन्, कोही ठिकै छ भन्छन्।'
आफूहरू प्रोफेसनल फोटोग्राफर भएकाले कहाँ उभिएर खिच्दा पृष्ठभूमि राम्रो आउँछ र कसरी उभिँदा राम्रो देखिन्छ भनेर सिकाउने गरेको उनले बताए।
आर्यनका अनुसार वसन्तपुरमा हरेक दिन घुम्न आउनेहरूको भीडभाड भए पनि फोटो खिचाउनेहरू शनिबार वा सार्वजनिक विदाको दिन बढी आउँछन्। चाडपर्व बेला सपरिवार आउनेहरू पनि फोटो खिचाउन इच्छुक हुन्छन्।
'हामीसँग फोटो खिचाउन धेरै रहर गर्नेहरू चाहिँ स्कुल-कलेज पढ्ने केटाकेटी नै हुन्,' उनले भने।
त्यस्ता विद्यार्थीसँग सामान्यतया महँगो मोबाइल हुँदैन। साँझ वा रातको समय मोबाइलले फोटो खिच्दा त्यति राम्रो पनि आउँदैन। त्यही भएर आर्यनजस्ता फोटोग्राफरको मद्दत लिन्छन्।
उनीहरू एउटा फोटो खिचेको २० रूपैयाँ लिन्छन्। धेरैले सुरूमा एक-दुइटा फोटो खिच्दिनू भन्छन्। राम्रो लागे थप खिचाउँछन्। धेरै फोटा खिचेका बेला राम्रा राम्रा छान्छन् र त्यसको मात्र पैसा दिन्छन्। यस्तो बेला काम बढी, पैसा कम हुने उनी बताउँछन्।
फोटो खिचिसकेपछि ओटिजी तार प्रयोग गरेर क्यामराबाट ग्राहकको फोनमा पठाइदिने गरेको उनले बताए। यसो गर्दा फोटोको गुणस्तर घट्दैन। इच्छा हुनेले त्यही फोटो ठूलो पारेर फ्रेममा सजाउन सक्छन्।
'मान्छेहरूमा फोटोप्रति मोह कहिल्यै घट्दैन। त्यसैले यो कामको भविष्य छ जस्तो लाग्छ,' उनले भने, 'एउटै अप्ठ्यारो भनेको, अचेल हामीलाई महानगरपालिकाका नगर प्रहरीले दु:ख दिन्छन्। कहिलेकाहीँ त चोरजस्तो लखेट्न पनि आउँछन्।'
यसरी लखेटिनुपरेको अनुभव उनी आफैले पनि भोगेका छन्।
गएको शिवरात्रिको साँझ उनी सधैंझैं क्यामरा बोकेर वसन्तपुर डबलीमा उभिएका थिए। नगर प्रहरीहरू लखेट्दै आए। सबै लाखापाखा लागे। आर्यनलाई भने भाग्न मन लागेन।
'म अर्काको पाकेट मार्न बसेको हुँ र! मलाई त्यसरी भाग्न एकदमै लाज लाग्छ। के-के न गल्ती गरेजस्तो किन भागी भागी हिँड्नू,' उनले भने, 'त्यसैले आफै गएर क्यामरा नगर प्रहरीको जिम्मा लगाइदिएँ।'
अहिले पनि आफ्नो क्यामरा नगर प्रहरीले कब्जामा राखेको उनले बताए। यसअघि पनि एकचोटि उनको क्यामरा नगर प्रहरीले लगिसकेको छ। क्यामरा जफत भएपछि फिर्ता लिन कम्तिमा एक साता लाग्छ। पन्ध्र सय रूपैयाँ जरिवाना तिर्नुपर्छ।
क्यामरा खोसिएका बेला उनीहरूको रोजीरोटी गुम्छ। यस्तो अवस्थामा उनीहरू आफै एकअर्काको सहारा बन्छन्। एकले अर्कालाई आफ्नो क्यामरा प्रयोग गर्न दिन्छन्। आम्दानी बाँडिचुँडी लिन्छन्।
यी फोटोग्राफरलाई दिनभरि उभिएर ग्राहक खोज्ने दु:ख त छँदैछ, सँगसँगै नगर प्रहरी आएर क्यामरा जफत गर्लान् कि भन्ने डर पनि छ।
नगर प्रहरीहरूकै डरले आफूहरू दिउँसो १-२ बजे मात्र काम सुरू गर्ने र राति ७-८ बजेसम्म खटिने गरेको उनले बताए।

हामीले यसबारे काठमाडौं महानगरपालिकाका सहायक प्रवक्ता ध्रुव काफ्लेसँग कुरा गरेका छौं। उनलाई हामीले वसन्तपुर डबलीमा फोटो खिच्न पनि निषेध गरिएको हो भनेर सोधेका थियौं।
जबाफमा काफ्लेले भने, 'यत्तिकै फोटो खिच्न निषेध छैन। तर व्यावसायिक प्रयोजनका लागि फोटो खिच्न नपाइने हुँदा नगर प्रहरीहरूले हटाउने गर्छन्।'
उनका अनुसार व्यावसायिक प्रयोजनका लागि फोटो खिच्नुछ भने तीन वा चार दिनको पटके अनुमति लिनुपर्छ। त्यस्तो अनुमति नलिई व्यावसायिक रूपले फोटो खिच्न रोक लगाएको उनले बताए।
यसबाहेक ती फोटोग्राफरले वसन्तपुरमा घुम्न आउनेहरूलाई फोटो खिच्नुस् भन्दै दु:ख दिने गरेको आरोप पनि काफ्लेले लगाए।
आर्यन भने यसमा सहमत छैनन्।
आफूहरूले बाटोमा हिँड्नेलाई कहिल्यै दुःख नदिएको उनको भनाइ छ।
'हामी न कसैलाई दु:ख दिन्छौं, न बाटो अवरोध गर्छौं। हाम्रो कामले न गाडी रोकिन्छ, न वसन्तपुर घुम्न आउनेलाई असुविधा हुन्छ। न हामीले वातावरण प्रदूषण गरेका छौं, न सार्वजनिक स्थलमा झैझगडा गरेका छौं,' उनले भने, 'काम गरेर खान पनि डराउनुपर्ने कस्तो सहर हो यो?'
पछिल्लो समय नेपालका अरू विभिन्न ठाउँमा पनि यस्तो फोटोग्राफी पेसा खुब फस्टाएको छ। पोखराको लेकसाइड त्यसैमध्ये एक हो।
'मान्छेहरू फोटो खिचाउने रहर गर्छन्। जो रहर गर्छन्, हामी उनीहरूको रहर पूरा गरिदिन्छौं र त्यसबापत् दुई-चार पैसा कमाउँछौं,' आर्यनले भने, 'जानेको काम गर्न पनि रोक लगाएर के राज्यले हामीलाई विदेश नै लखेट्न खोजेको हो?'
***