ललितपुरको किष्ट मेडिकल तथा शिक्षण अस्पतालले मुख सम्बन्धी उपचारमा ५० प्रतिशतसम्म छुट दिने भएको छ।
विश्व मुख स्वास्थ्य दिवसको अवसरमा बिहीबार अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालले एक महिनासम्म उपचारमा ५० प्रतिशतसम्म छुट दिने घोषणा गरेको हो।
‘से नो टू स्मोक, से एस टू लाइफ’ नारासहित तम्बाकू नियन्त्रण, मुख तथा दन्त स्वास्थ्य सुधार र मुख सम्बन्धी जनचेतना वृद्धि गर्ने उद्देश्यले विशेष कार्यक्रम सुरू गरेको अस्पतालले जनाएको छ।
अस्पतालका प्रिन्सिपल बालमानसिंह कार्कीका अनुसार यो छुट वैशाख ७ गतेसम्मका लागि मान्य छ।
दाँत सफा गर्न (स्केलिङ र पोलिसिङ)मा ५० प्रतिशत छुट, बाँंगो दाँत मिलाउन २५ प्रतिशत र अन्य दन्त सेवामा १५ प्रतिशतसम्म छुट दिने घोषणा गरेको हो।
त्यस्तै दन्त स्वास्थ्यको सुधारका लागि अन्य कार्यक्रमको पनि घोषणा भएको छ।
अस्पतालले तम्बाकू परित्याग क्लिनिकको स्थापना गर्ने पनि प्रिन्सिपल कार्कीले जानकारी दिए। एक महिनासम्म अस्पतालले निशुल्क परामर्श सेवा दिनेछ।
त्यस्तै विद्यालयस्तरीय सचेतना कार्यक्रम गर्ने, स्थानीयतहरूमा नि:शुल्क मुख स्वास्थ्य परीक्षण तथा परामर्श सेवा, गरिब तथा दुर्गम क्षेत्रका समुदायलाई लक्षित गरी स्वास्थ्य सचेतना पनि आयोजना गर्ने जनााएको छ।
त्यसबाहेक र्याली, फ्ल्यास-मब, नाटकमार्फत पनि जनचेतनाको अभियान गर्ने जनाएको छ।
दन्त विशेषज्ञसमेत रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले दाँतको तथा मुखको स्वास्थ रह्यो भने ९० देखि ९५ प्रतिशत समस्याहरू रोकथाम गर्न सकिने बताए।
मुख स्वास्थ राख्न प्रत्येक दिन दुई पटक दाँत माझ्ने र एक पटक डेन्टल फ्लसले सफा गर्नाले स्वास्थ्य राम्रो हुने उनले बताए।