विराट गोल्डकप फुटबलको नवौं संस्करण आजबाट विराटनगरमा सुरु हुँदैछ। फ्लडलाइटको उज्यालोमा खेलिने प्रतियोगिताका सबै खेल साँझ ६ बजेपछि हुनेछन्।
सोमबार पहिलो खेलमा घरेलु टिम रिजालको मोरङ फुटबल एकेडेमी र भारत कोलकाताको साउथर्न समितिले प्रतिस्पर्धा गर्नेछन्।
‘विराटनगरको साथ फुटबलको विकास’ भन्ने मूल नारासहित सोमबारबाट सुरू हुन लागेको गोल्डकपले मोफसलको फुटबल गतिविधिलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा आयोजक समितिले लिएको छ।
संयोजक नवीन रिजालका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। विराट गोल्डकपको सुरूआत वि.स.२०१८ सालमै भएको थियो।
तत्कालीन राजा महेन्द्रकै नाममा ‘श्री ५ महेन्द्र गोल्डकप’ का नाममा सुरू भएको प्रतियोगिता लोकतान्त्रिक गणतन्त्रमा आइपुग्दा विराट गोल्डकपमा रूपान्तरण भएको हो।
सुरूआतको ३९ वर्षसम्म नियमित रहेको प्रतियोगिता द्वन्द्वकालमा भने ११ वर्ष आयोजना हुनै सकेन। २०५७ सालदेखि रोकिएको प्रतियोगिता २०६८ साल पुनः ब्यूँतियो। २०७० मा हुन नसकेको प्रतियोगिता २०७१ बाट पुनः सुरू भयो।
२०७४ मा पहिलोपटक फ्लडलाइटमा फुटबल प्रतियोगिता सुरू भएपछि भने विराट गोल्डकपको कायाकल्प भएको मान्नेहरू धेरै छन्।
त्यसबेलासम्म काठमाडौंको दशरथ रंगशालामा मात्रै सम्भव हुँदै आएको रात्रीकालीन फुटबलको २०७४ मा विराटनगरले आयोजना गरेर नयाँ सम्भावना देखाएको थियो।
अरूबेला सिला खोजेको झैं भन्न मिल्ने दर्शक सहभागितामा हुने विराटनगरको फुटबलमा २०७४ को रात्रीकालीन विराट गोल्डकपले नयाँ आशा सञ्चारित गरेको थियो। व्यवस्थापन गर्नसमेत हम्मे पर्ने दर्शकको उपस्थितिले मोफसलको फुटबललाई नयाँ उचाइ दिएको थियो ।
अबको एक साता विराटनगरको रात्रीकालीन माहोल फुटबलमय बन्ने आशा यहाँका फुटबलकर्मीको छ।
जाडोमा ज्यादै जाडो र गर्मीमा उस्तै हपहपती विराटनगरजस्तो सुदूर दक्षिण–पूर्वी सहरको मौसमी विशेषता हो। अझ उद्योगधन्दाको भीड, यातायातका साधन र मानव आवादीको सघन उपस्थितिले गर्मी महिनामा विराटनगर खपिनसक्नुगरी तातिन्छ।
यस्तो उखुमै गर्मी हुने ठाउँमा गर्मी यामको चर्को घाममा हुने फुटबलले खेलाडी र दर्शक दुवैलाई सताउँथ्यो। तर, रात्रीकालीन फुटबलले विराटनगरको फुटबल इतिहासलाई नयाँ दिशा दिएको थियो।
साँझमा हुने प्रतियोगिताले दर्शकलाई सबैभन्दा सजिलो हुने गरेको अनुभव विगतले पस्केको छ। ‘वर्किङ आवरमा फुटबल प्रतियोगिता आयोजना हुँदा दर्शक सहभागिता ज्यादै कम हुने दृष्टान्त पहिले प्रत्यक्ष अनुभव गर्न पाइन्थ्यो’, गोल्डकप संयोजक रिजालको भनाइ छ ‘तर, राति आयोजना गर्दा सामान्य रूची भएका दर्शक पनि मैदानसम्म आउने रहेछन्।
अधिक दर्शकको सहभागिताले खेलाडी, आयोजक र खेल पर्यटनमा ठूलो टेवा पुग्नेरहेछ। यसपटक पनि दर्शकको त्यस्तै साथ र सहयोग अपेक्षा गरेका छौं ।’ गोल्डकपको नवौं संस्करणमा भारतका दुई वटासहित जम्मा १० टोलीले खेल्ने छन् ।
रात्रिकालीन गोल्डकप प्रतियोगिताको मुख्य सहयोगीका रूपमा रमपम तयारी चाउचाउ रहेको छ। प्रतियोगिताका लागि १ करोड ३५ लाख रूपैयाँ खर्च लाग्ने अनुमान गरेर तयारी अघि बढाइएको संयोजक रिजालले बताए । हालसम्म एक करोड रूपैयाँको स्रोत सुनिश्चित भएको जानकारी दिंदै उनले बाँकी रकमका बारेमा भने अन्योल कायमै रहेको बताए।
विजेता टोलीले नगद ११ लाखसहित पदक र ट्रफी प्राप्त गर्नेछन्। उपविजेताले ५ लाख पाउने छन्।
उत्कृष्ट प्रशिक्षकलाई १५ हजार, उत्कृष्ट गोलरक्षकलाई नगद १५ हजार, सर्वाधिक गोलकर्ता खेलाडीलाई नगद १५ हजार, दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई नगद ११ हजार र सर्वोकृष्ट खेलाडीलाई नगद ५१ हजार रूपैयाँ पुरस्कार दिइने छ।