सरकारले वैशाख १२ गते संघीय संसदको बैठक आह्वान गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संघीय संसद बैठक आह्वान गर्ने निर्णय गरेको शिक्षामन्त्री विद्या भट्टराईले जानकारी दिइन्।
संसदमा विचाराधीन विद्यालय शिक्षा विधेयक यही बैठकबाट पारित गर्न समन्वय र सहजीकरण गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको उनले बताइन्।
उनका अनुसार नेपाल शिक्षक महासंघले उठाएका मागको विषयमा पनि मन्त्रिपरिषदमा छलफल भएको थियो।
अहिले एसइईको उत्तरपुस्तिका परीक्षण तथा कक्षा १२ को राष्ट्रिय परीक्षाको समय भएकाले विरोध र प्रदर्शन कार्यक्रम स्थगन गरी आ-आफ्नो कार्यथलो फर्किन सरकारले शिक्षकहरूसँग अनुरोध गरेको छ।
शिक्षक महासंघले उठाएका माग यथोचित सम्बोधन गर्न निरन्तर संवाद भइरहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेको शिक्षामन्त्री भट्टराईले बताइन्।