१९ दिनदेखि नेपाल प्रहरीको थुनामा रहेका भुटानी शरणार्थी युवाहरुलाई थुनामुक्त गर्न माग गर्दै तिनका आफन्त बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालत पुगेका छन्।
चैत १६ मा झापाको बेलडाँगी शिविरबाट पक्राउ परेका तीन जनामध्ये आशिष सुवेदीका बुवा नारायणकुमार सुवेदी बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च पुगेका हुन्।
‘म हिजो पनि आएको थिएँ, आजलाई बोलाएको भएर अहिले अदालतमै छु,’ सुवेदीले भने, ‘देशविहीन बनाइएका मेरा छोरासहितका चार जनालाई थुनामुक्त गरेर स्वतन्त्रतापूर्वक बस्ने वातावरण मिलाइयोस् भन्ने माग गरेर म नेपालको सर्वोच्च अदालत आइपुगेको छु।’
अमेरिकाले डिपोर्ट गरेर भुटान पुर्याएका १२ जना शरणार्थीलाई भुटानले नेपालतिरै पठाइदिएको थियो। कागजात खोसेर भुटानले नेपाल पठाएका उनीहरु अवैध रुपमा नेपाल प्रवेश गरेको अभियोगमा थुनामा छन्।
सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले पनि सुवेदीले बन्दी प्रत्यक्षीकरणको रिट पेश भएको र त्यो दायर हुने नहुनेबारे हेरिरहेको जानकारी दिए।
‘उहाँको रिट हामीकहाँ पेस भएको छ, दायर हुन्छ कि हुन्न हार्मी हेर्दैछौं’, उनले भने।
आशिष सुवेदी, रोशन तामाङ र सन्तोष दर्जी चैत १६ गतेदेखि र अशोक गुरूङ चैत १९ देखि काँकडभिट्टा प्रहरीको हिरासतमा छन्।
अमेरिकाले डिपोर्ट गरेर भुटानलाई जिम्मा लगाएका थप पाँच जना शरणार्थी भुटानबाट लखेटिएका छन्। उनीहरू भारतको सिलिगुडी आइपुगेका छन्।
अमेरिकाले आपराधिक गतिविधिमा संलग्न भन्दै ६३ जना भुटानी शरणार्थी डिपोर्ट गर्ने सूची बनाएको एक मानवअधिकार अभियन्ताले बताए।
तीमध्ये यसअघि नै डिपोर्ट गरेका १३ जना र थप ५ गरी अहिलेसम्म १८ जना शरणार्थी भुटान सरकारलाई बुझाइसकेको छ। अमेरिकासँग आफ्नै नागरिक भन्दै जिम्मा बुझ्ने भुटान सरकारले ती १८ जनालाई भुटानबाट फकाएर र धम्क्याएर फेरि देश निकाला गरिसकेको छ।
यसबाहेक थप एक जना महिला भुटानी शरणार्थी अमेरिकाको पेन्सिलभेनियामा पक्राउ परेको पौड्यालले बताए।
उनका अनुसार ती महिला पनि डिपोर्टमा परेर भुटान आउँदै छिन्। उनलाई पनि भुटानले लखेट्यो भने यो संख्या १९ पुग्छ।