त्रिभुवन आर्मी क्लवले एन्फा महिला लिग फुटबलको फाइनल राउन्डमा विजयी सुरुवात गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबारदेखि सुरु भएको महिला लिगको फाइनल चरणको खेलमा आर्मीले बागमती युथ क्लवमाथि २–० को जित निकाल्यो।
आर्मीका लागि विमला चौधरीले दुई गोल गरिन्। आर्मीले दुवै हाफमा समान एक गोल गरेको हो।
विमलाले खेलको २५ औं मिनेटमा गोल गर्दै अग्रता दिलाइन्। डिफेन्स लाइनबाट विमला विकले दिएको लामो क्रस सदुपयोग गर्दै उनले गोल गरेकी हुन्।
७१औं मिनेटमा नै विमलाले दोस्रो गोल गरिन्। सपना लामाले कर्नरबाट दिएको बललाई विमलाले हेडमार्फत गोल गरेकी हुन्।
फाइनल राउण्डमा तीन विभागीय टोली एपिएफ, नेपाल पुलिस क्लव र आर्मीसँगै वालिङ नगरपालिका र बागमतीले खेल्नेछन्।