(यो सेतोपाटीका सदस्यहरूले मात्र पढ्न मिल्ने 'प्रिमियम' स्टोरी हो। केही दिनका लागि सबै पाठकले निःशुल्क पढ्न मिल्ने गरी खुला गरेका छौं)
अमिसा कुँवर क्षत्री पोखराकी एक चर्चित 'पिआर गर्ल' हुन्।
धेरैलाई जिज्ञासा होला, पिआर गर्ल भनेको के?
यो पछिल्लो समय कर्पोरेट क्षेत्रमा विकास भएको नयाँ पेसा हो, जसले कम्पनीको ब्रान्डलाई बजारमा चिनाउन र व्यवसाय प्रवर्द्धन गर्न भूमिका खेल्छ। कम्पनीले दिने सेवा–सुविधाबारे ग्राहकहरूलाई जानकारी दिन्छ। ग्राहकहरूसँग सम्पर्क बढाउँछ र उनीहरूलाई बारम्बार आइरहन प्रेरित गर्छ।
एक वाक्यमा भन्दा, पिआर गर्ल भनेको बजारमा कम्पनीलाई चिनाउने अनुहार हो।
ठुल्ठूला कम्पनीले चर्चित कलाकार तथा खेलाडीलाई 'ब्रान्ड एम्बेसडर' नियुक्त गरेको तपाईंहरूले देख्नुभएकै होला। कर्पोरेट जगतमा यो नौलो कुरा होइन। यही चलन पछ्याउँदै अहिले मध्यम र साना स्तरका कम्पनीहरूले पनि आफ्नो व्यवसाय प्रवर्द्धनका लागि जनसम्पर्क बढाउन पिआर गर्ल/ब्वाई राख्न थालेका छन्।
पोखरा जस्तो देशकै एक प्रमुख पर्यटन क्षेत्रका होटल, रेस्टुरेन्टहरूमा यो चलन निकै बढेको पाइन्छ। अमिसा कुँवर त्यसैकी एक उदाहरण हुन्।
पिआर गर्ल हुनलाई चर्चित कलाकार वा खेलाडी नै हुनुपर्छ भन्ने छैन। मोडल पनि नभए हुन्छ। यसमा तीनवटा कुरा चाहिन्छ — कम्पनीको ब्रान्ड प्रवर्द्धन गर्ने खुबी, जोसँग पनि आत्मविश्वासका साथ बोल्ने क्षमता र क्यामरा फ्रेन्ड्ली व्यक्तित्व।
२० वर्षीया अमिसा आफूमा यी तीनै गुण भएको बताउँछिन्।
उनी आफूलाई 'क्यामरा फ्रेन्ड्ली' मान्छिन्। जुनसुकै पात्रमा आफूलाई उतार्न सक्ने दाबी गर्छिन्। र, बजार व्यवस्थापनको निम्ति जोसँग पनि धक नमानी बोल्न सक्ने खुबी छ भन्छिन्।
यिनै खुबी देखेर होला, उनलाई अहिले पोखराका होटल, रेस्टुरेन्ट लगायत व्यावसायिक कम्पनीहरूले 'पिआर गर्ल' नियुक्त गरेका छन्।
अमिसा पोखराकी चर्चित मोडल, कन्टेन्ट क्रिएटर र सामाजिक अभियन्ता हुन्। मोडलको अनुभवले उनलाई कसरी अरूका अगाडि राम्रोसँग प्रस्तुत हुने भन्ने ज्ञान छ। विभिन्न भिडिओ सामग्री उत्पादन र सामाजिक काममा लागेकीले उनको आत्मविश्वास बलियो भएको पोखराका होटल व्यवसायीहरू बताउँछन्।
अमिसाले पिआर गर्लको काम सुरू गरेको ९ महिना भयो। उनी आरोहण इन्टरप्राइजेजमा पूर्णकालीन पिआर गर्ल छिन् भने केही होटल र रेस्टुरेन्टमा पनि प्याकेजमा काम गरिरहेकी छन्।

'म कम्पनीको सेवा–सुविधाबारे आम मानिसलाई जानकारी दिने काम गर्छु,' उनले भनिन्, 'कम्पनीको व्यवसाय प्रवर्द्धन गर्न भिडिओहरू बनाएर इन्स्टाग्राम, टिकटक लगायत सामाजिक सञ्जालमा हाल्छु। कम्पनीको ब्रान्ड चिनाउन विभिन्न कार्यक्रममा भाग लिन्छु र कम्पनीका सम्भावित ग्राहकहरूलाई भेटेर कम्पनीको सेवा उपभोग गर्न आग्रह गर्छु।'
उनी आरोहण इन्टरप्राइजेजले उत्पादन गरेका सामानबारे मासिक १५ वटा भिडिओ बनाउँछिन्। त्यसबापत न्यूनतम ३५ देखि ४० हजार रूपैयाँ पाउँछिन्। यसबाहेक विभिन्न होटलको सेवासुविधा र रेस्टुरेन्टका नयाँ परिकारको प्रवर्द्धन पनि गर्छिन्। यसका लागि उनी कम्पनीको माग अनुसार भिडिओ बनाउँछिन्। एउटा भिडिओ बनाएको कम्तिमा ५ हजार रूपैयाँ लिन्छिन्।
'मेरो न्यूनतम दर ५ हजार हो। भिडिओ कतिवटा बनाउने र कति मिहिनेत लाग्छ भन्नेले थप शुल्क निर्धारण गर्छ,' उनले भनिन्, 'कहिलेकाहीँ भिडिओ राम्रो भयो भने तोकिएभन्दा बढी पैसा पाइन्छ। कहिलेकाहीँ भने एकदमै मिहिनेत गरेर बनाएको भिडिओ पनि कम्पनीले मन पराउँदैन। त्यस्तो बेला तोकिएको पैसा पनि दिन मान्दैनन्।'
यसरी तोकिएको पैसाधरि नपाएको घटना अमिसाले धेरैपटक भोगेकी छन्।
तीन महिनाअघिको कुरा हो। उनले रेस्टुरेन्टको निम्ति नयाँ परिकारको भिडिओ बनाएकी थिइन्। चार घन्टा लगाएर भिडिओ खिचिन्। त्यो भिडिओ सामाजिक सञ्जालमा लाखौंले हेरे। तैपनि रेस्टुरेन्ट सञ्चालकले चित्त बुझाएनन् र भनेको अनुसार पैसा पनि दिएनन्।
कसै कसैले त एक पैसा नदिएको अनुभव पनि छ उनीसँग।
चार महिनाअघि पोखराकै एक रेस्टुरेन्टको उद्घाटनका लागि उनले नयाँ नयाँ परिकारको भिडिओ बनाएकी थिइन्। सामाजिक सञ्जालमा पनि राम्रो चर्चा पाएको थियो। तर त्यो भिडिओ बनाएबापत् उनले एक पैसा पाइनन्। दुई–तीन पटक माग्दा पनि आनाकानी गरेपछि यसै छाडिदिएको उनले बताइन्।
'यो क्षेत्रमा काम गरेको पैसा पाउन भने निकै गाह्रो छ। पारिश्रमिक लिन पनि चन्दा मागेजस्तो धाइरहनुपर्छ,' उनले भनिन्, 'तर सबै जना त्यस्ता हुँदैनन्। कसैले काम सुरू नहुँदै अग्रिम भुक्तानी पनि गर्छन्। राम्रो भिडिओ बनायौ भनेर बढी पारिश्रमिक पनि दिन्छन्।'
जस्तोसुकै अवरोध आए पनि यही क्षेत्रमा करिअर अघि बढाउने उनको सोच छ। त्यही भएर उनी मिहिनेत गर्न पछि पर्दिनन्।
उनको दैनिकी नै आफूले पिआरको जिम्मा लिएका कम्पनीको भिडिओ बनाएर बित्छ। यसका लागि क्यामरा, लाइट लगायत आवश्यक सामग्रीहरू आफैले किनेकी छन्। कुन कम्पनीको बजार प्रवर्द्धन गर्न कस्तो भिडिओ बनाउनुपर्छ भन्ने पनि उनी आफै निधो गर्छिन्।
कतिपय अवस्थामा व्यवसायीहरूले पनि भिडिओमा यो–यो कुरा छुटाउनु हुँदैन भन्छन्। व्यवसायीहरूको आवश्यकता बुझेर उनी त्यसै अनुसार भिडिओ बनाइदिन्छिन्।

'म हरेक भिडिओमा नयाँपन दिने प्रयास गर्छु। आममान्छेले कस्तो भिडिओ हेर्न रूचाउँछन् भनेर सामाजिक सञ्जालहरूमा हेरिरहेको हुन्छ र त्यही ट्रेन्ड फलो गर्छु,' उनले भने, 'भिडिओ बनाउँदा दुई–तीन सेकेन्डभित्रै दर्शकको ध्यान तान्न सक्नुपर्छ। भिडिओको सुरूआत फितलो भयो भने पछाडि जतिसुकै राम्रो भए पनि केही मतलब हुन्न। अधिकांश दर्शकले पछाडिसम्म हेर्दै हेर्दैनन्।'
दर्शकको ध्यान तान्न आममान्छेको सरोकार र चासो बुझ्नु र त्यही चासोलाई उनेर आफ्नो भिडिओ सामग्री तयार पार्नुपर्ने उनी बताउँछन्।
'आममान्छेको चासो नबुझी आफ्नै पारामा बनाएको भिडिओले खासै राम्रो भ्युज पाउँदैन,' अमिसाले अगाडि भनिन्, 'भिडिओले राम्रो भ्युज पाएन भने तपाईं यो क्षेत्रमा जम्न सक्नुहुन्न। व्यवसायीहरूले फेरि फेरि तपाईंलाई काम दिँदैनन्। त्यसैले यो क्षेत्रमा टिक्नुछ भने आममान्छेको नाडी समात्न सक्नुपर्छ। उनीहरूको सोच पक्रिन सक्नुहुन्छ। चलिआएको ट्रेन्ड पछ्याउन जान्नुपर्छ।'
पोखरामा आफूजस्ता पिआर गर्ल धेरै भएकाले प्रतिस्पर्धा चर्को भएको र यो क्षेत्रमा टिकिराख्न मिहिनेती र सिर्जनशील हुनुपर्ने उनको भनाइ छ।
उनले यो काममा लाग्न परिवारबाट साथ र सहयोग पाएकी छन्।
पोखरा महानगरपालिका–१७ मा जन्मे–हुर्केकी अमिसा परिवारकी कान्छी छोरी हुन्। उनकी एक दिदी नर्स छिन्। अमिसाले सरकारी जागिर खाओस् भन्ने आमाबुबाको इच्छा थियो। दिदीले भने नर्स नै बन्नुपर्छ भनेर अमिसालाई सम्झाइरहन्थिन्। तर उनी न सरकारी सेवामा लागिन्, न नर्सिङ रोजिन्।
उनलाई पहिले एयर होस्टेस बन्ने इच्छा थियो। पछि त्यो इच्छा छाडेर मोडलिङमा लागिन्।
उनी मोडलिङमा पनि अकस्मात् नै लागेकी हुन्।
उनले चार वर्षअघि वेस्ट प्वाइन्ट चिल्ड्रेन एकेडेमीबाट एसइई पास गरेकी थिइन्। एसइई दिएर बसेका बेला सामाजिक सञ्जालमा फोटो प्रतिस्पर्धा चलेको थियो। एक जना साथीले थाहै नदिई उनको फोटो प्रतिस्पर्धामा पठाइदिइछन्। उनको त्यो फोटोले २० हजारभन्दा बढी लाइक्स पायो।
अमिसाले प्रतिस्पर्धा त जितिनन्, तर सामाजिक सञ्जालमा उनको फोटो देखेर धेरै साथीले मोडलिङ क्षेत्रमा जान सल्लाह दिए।
उनलाई पनि सामाजिक सञ्जालमा पाएका सकारात्मक प्रतिक्रियाले यो क्षेत्रमा लाग्न हौसला दियो।
'मैले यसबारे परिवारसँग सल्लाह गरेँ। आमाबुबाले जे काममा खुसी लाग्छ, त्यही गर भन्नुभयो,' उनले भनिन्, 'उहाँहरूले पहिलेदेखि नै हामीलाई आफ्नो इच्छाको काम गर्न रोकटोक गर्नुभएको थिएन। त्यसैले मलाई मोडलिङमा आउन परिवारबाट कुनै अवरोध भएन।'
यसरी अमिसाले सन् २०२१ बाट मोडलिङ सुरू गरिन्। मोडलिङ सिक्न पोखरामै विभिन्न तालिम कक्षाहरूमा भर्ना भइन्। हिँड्न, बोल्न, खान लगायत व्यक्तित्व विकासका थुप्रै सीप लिइन्।
त्यसै वर्षको आखिरीमा 'मिस डायनामिक पोखरा २०२१' प्रतियोगिता भएको थियो। उनी त्यसमा पनि सहभागी भइन् र प्रतियोगिता जितिन्।
यो उनको जिन्दगीको महत्त्वपूर्ण 'टर्निङ प्वाइन्ट' बन्यो।
त्यसपछि उनले मोडलिङमै करिअर बनाउने निधो गरिन्। विभिन्न कार्यक्रममा सहभागी भइन् र कम उमेरमै एकपछि अर्को सफलताको सिँढी उक्लँदै गइन्।
सुरूआती दिनमा निकै हन्डर खानुपरेको क्षण पनि उनी सम्झन्छिन्। कतिपय ठाउँमा बच्चा भनेर होच्याउने, बेवास्ता गर्ने र काम अनुसार पैसा नदिने समस्या उनले धेरै झेलिन्।
जस्तोसुकै समस्या परे भने हरेस नखाई अघि बढ्दा आजको मुकामसम्म आइपुगेको उनी बताउँछिन्।

त्यसैबीच उनलाई विभिन्न व्यावसायिक कम्पनीहरूबाट आफ्नो उत्पादनको बजार प्रवर्द्धनका लागि मोडलिङ गर्न, भिडिओ सामग्री बनाउन र जनसम्पर्कका काम गर्न प्रस्तावहरू आए। उनलाई सानैदेखि भिडिओ बनाउन, फोटो खिच्न र नयाँ नयाँ मान्छेसँग कुराकानी गर्न रमाइलो लाग्थ्यो। मोडलिङ क्षेत्रमा लागेपछि उनलाई यस्ता काममा अझै रूचि बढेको थियो।
उनले ती प्रस्ताव स्वीकार गरिन्।
'मलाई यो काम निकै रमाइलो लागिरहेको छ। दिनहुँ नयाँ नयाँ मान्छेसँग भेट हुन्छ। उनीहरूसँग कुरा गरेर आफूले जिम्मा लिएको कम्पनीबारे प्रचारप्रसार गर्छु। यसले मेरो जनसम्पर्क फराकिलो हुँदै गएको छ,' उनले भनिन्।
यसरी काम गर्दा गर्दै अमिसाले प्लस टूको पढाइ पनि पूरा गरिसकिन्। आगामी दिनमा पनि पढाइलाई निरन्तरता दिने उनी बताउँछिन्।
'पढाइले मान्छेमा आत्मविश्वास बढाउँछ। म अहिले जुन काममा छु, त्यसको निम्ति आत्मविश्वास एउटा मुख्य हतियार हो,' उनले भनिन्।
पिआर गर्लका रूपमा काम गरेको ९ महिना मात्र भए पनि मोडलिङ समेत जोड्दा अमिसासँग लगभग चार वर्षको अनुभव छ। यसबीच सामाजिक सञ्जालमा उनका फलोअरहरू पनि बढेको छ। यसले पनि पिआर गर्ल र भिडिओ सामग्री उत्पादकका रूपमा उनको माग बढाएको छ।
उनलाई अहिले पोखरा मात्र नभई काठमाडौंका केही कम्पनीले पनि आफ्नो ब्रान्ड प्रवर्द्धन गर्न बोलाइरहेका छन्। उनी त्यसका लागि काठमाडौं आउने तयारीमा छिन्।
'अहिलेको जमाना भिडिओ सामग्री उत्पादनको छ। त्यसैले राम्रो मिहिनेत गर्यो भने यो क्षेत्रमा राम्रो भविष्य छ भन्ने मलाई लाग्छ,' उनले भनिन्, 'म अहिले नै महिनाको ६०–७० हजारभन्दा बढी कमाउँछु। अनुभव बढ्दै गएपछि कमाइ पनि बढ्दै जाला।'
अमिसाको विशेषता के भने, उनी अहिलेदेखि नै आफ्नो कमाइको केही हिस्सा सामाजिक काममा खर्च गर्छिन्। गरिबहरूका लागि औषधि किन्ने र उनीहरूको स्वास्थ्य उपचारमा सहयोग गर्ने गरेकी छन्।
'मलाई यस्ता सामाजिक काम गर्न खुसी लाग्छ,' उनले भनिन्, 'त्यसैले पोखराका विभिन्न ठाउँमा साथीहरूसँग सहयोग गर्न हिँडिरहेकी हुन्छु।'

***