बुधबार आगलागी भएको ढल्केबर सबस्टेसनमा घटनाको निरीक्षण तथा अध्ययन गर्न प्राधिकरणको टोली पुगेको छ।
आगलागीका कारण भएको विद्युत अवरोध समस्या तुरून्त समाधान गर्न कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सहितको उच्च स्तरीय टोली बिहीबार त्यहाँ पुगेको प्राधिकरणले जनाएको छ।
अचानक आएको प्राविधिक समस्या, त्यस क्षेत्रको विद्यमान लोड (माग र आपूर्ति) को अवस्था तथा यस्ता समस्याको दिगो समाधान गर्ने उद्देश्यसहित टोली त्यहाँ पुगेको उल्लेख गरिएको छ।
दिगो र भरपर्दो विद्युत आपूर्ति गर्न पूर्वाधार संरचनाको मर्मत–सम्भार, नयाँ जडान लगायत काम गर्ने प्राधिकरणले जनाएको छ।
भविष्यमा यस्ता खालका दुर्घटना हुन नदिने गरी अगाडि बढ्ने योजनाका साथ यसको अध्ययन गरिने उल्लेख छ।
बुधबार ढल्केबर सबस्टेसनको १३२-३३-११ केभी खण्डमा समस्या आएको थियो।
निरीक्षणका क्रममा कार्यकारी निर्देशक शाक्यले आगामी दिनमा यस्ता प्राविधिक समस्या दोहोरिन नदिन उच्च सतर्कता साथ काम गर्न निर्देशन दिए।
त्यस्तै, सबस्टेसनहरूमा ब्याकअप सप्लाई सहितको व्यवस्था गर्ने गरी कार्ययोजना अगाडि बढाउन समेत निर्देशन दिए।
सबस्टेसनमा जडित करेन्ट ट्रान्सफर्मर (सिटी) पड्केर आगलागी भएको देखिएको प्राधिकरणले जनाएको छ।
बुधबार बिहान करिब ७ः३० बजेदेखि धनुषाको जनकपुरधाम, यदुकुवा, धनुषाधाम, सखुवा, महोत्तरीको जलेश्वर, गौशाला, बर्दिबास, सिन्धुलीको भिमान लगायत क्षेत्रमा विद्युत आपूर्तिमा समस्या आएको थियो।
वैकल्पिक व्यवस्था गरी अधिकांश स्थानमा बुधबार नै आपूर्ति व्यवस्था मिलाइएको प्राधिकरणको भनाइ छ।